एमाले प्रदेश सांसद रेखा शर्मालाई कारबाही माग, बालिकालाई कमलरी बनाएको आरोप

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले १४ वर्षीया बालिकालाई घरेलु मजदुरको रूपमा कमलरी बनाएको आरोपमा कारबाहीको माग गरिएको छ।

मुक्त कमैया महिला विकास मञ्च, मुक्त  कमैया समाज, मुक्त कमलरी विकास मञ्च कैलाली, थारू कल्याणकारी सभा, थारू विद्यार्थी समाज, कमैया प्रथा उन्मूलन समाज र थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै शर्मालाई कारबाहीको माग गरेका हुन्।

‘...काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्चपदस्थ व्यक्तिहरू तथा व्यापारीहरूले लुकिछिपी थारूलगायत अन्य बालबालिका तथा महिलाहरूलाई बँधुवा मजदुरका रूपमा राखिरहेका छन् कि भन्ने प्रमाणको रूपमा बालिका उर्मिला चौधरीको घटनाबाट समेत  सहजै अनुमान लगाउन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सो घटनाले कमलरीहरूसँग २०७० जेठ २४ मा भएको १० बुँदे सम्झौता पूर्ण कार्यान्वयन नभएको देखाएको भन्दै अधिकारकर्मीहरूले अन्तर्राष्ट्रिय बँधुवा श्रम उन्मूलन गर्न नेपाल सरकारले गरेको प्रतिबद्धताको खिल्ली उडाएको बताएका छन्।

बालिकालाई न्यायसहित पुनर्स्थापनाको माग गर्दै अधिकारवादी संस्थाहरूले दोषीमाथि कारबाही नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

सुझावित समाचार