सिसडोल पोस्ट क्लोजिङ सुरु : फोहोरबाट आउने दुर्गन्ध कम हुने दाबी

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले सिसडोल पोस्ट क्लोजिङ (पुर्ने)को काम सुरु गरेको छ । महानगरले गत पुसदेखि नै पोस्ट क्लोजिङ सुरु गरे पनि पछिल्लो समय भने तीव्रता दिएको हो । 

यसका लागि महानगरले सिसडोल फोहोर व्यवस्थापनका लागि उपकरण, औजार एवं पूर्वाधार व्यवस्थापन शीर्षकमा ५० लाख बजेट विनियोजन गरेको छ । पोस्ट क्लोजिङअन्तर्गत महानगरले माटो क्यापिङ गरिरहेको वातावरण विभागका निमित्त प्रमुख सरिता राईले बताइन् । ‘पोस्ट क्लोजिङ आर्थिक वर्ष ०८०/८१ देखि नै सुरु भएको हो । यो वर्ष पनि बजेट विनियोजन भएको छ । तर, चालू आर्थिक वर्षको डिटेल वर्क प्लानिङ भने बन्न नै बाँकी छ,’ उनले भनिन् ।

सिसडोलमा थुपारिएको धेरै फोहोर माटोले पुरिसकिएको छ भने पोस्ट क्लोजिङअन्तर्गतका अन्य काम अब छिट्टै सुरु हुनेछ । २६ जेठ ०७९ मा महानगरले स्थानीयसँग गरेको सम्झौताअनुसार ६ महिनाभित्र वैज्ञानिक अध्ययन गरेर पोस्ट क्लोजिङ सुरु गर्ने थियो ।

तर, महानगरले त्यसको ठिक एक वर्षपछि मात्र काम सुरु गरेको हो । सिसडोलमा सुरुमा तीन वर्षका लागि भनेर फोहोर व्यवस्थापन गरिएको थियो । तर, १८ वर्षसम्म फोहोर फालिएको र ल्यान्डफिल साइट भरिसक्दा पनि ‘पोस्ट क्लोजिङ’ नहुँदा स्थानीय जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै आएका थिए । पोस्ट क्लोजिङ नहुँदा दुर्गन्धका कारण उक्त क्षेत्रका बासिन्दामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको थियो ।

महानगरले आर्थिक वर्ष ०७९/८० को बजेटमै सिसडोल ल्यान्डफिल साइट ‘पोेस्ट क्लोजर’ तथा ‘लिच्चड ट्रिटमेन्ट प्लान्ट’ तथा पार्क निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरेको थियो । 

See More On

सुझावित समाचार