नेपाल बक्सिङ महासंघले बुङवा मोन्टेनेग्रोमा हुने पुरुष तथा महिला आइवा विश्व बक्सिङ प्रतियोगिताका लागि सातजना खेलाडी छनोट गरेको छ । कात्तिक ४ गतेदेखि २१ गतेसम्म हुने विश्व च्याम्पियनसिपका लागि संघले विभिन्न तौल समूहमा खेलाडी छनोट गरेको हो ।
संघको आयोजनामा भदौ २४ र २५ गते हुने छनोट प्रतियोगिताअन्तर्गत महिलातर्फ ५२ केजी तौल समूहमा जेनेक्सकी स्वस्तिका तिरुवाले नक्सालकी दिव्या लिम्बूलाई ५–० ले हराइन् । यसैगरी, महिला ६० केजी तौल समूहको फाइनलमा कास्कीकी निसिका गुरुङले ललितपुरकी प्रिक्षा लामालाई ५–० को अन्तरले हराइन् ।
पुरुषतर्फ ५१ केजी तौल समूहमा एचटुओका अर्पिल रानाले एबिसीका पारस बोमजन तामाङमाथि ५–० को जित निकाले । पुरुषतर्फ ५४ केजी तौल समूहमा आरडिएसका रोसिस्की शाहीले एचटुओका सञ्जय मगरलाई ५–० ले हराए । पुरुषतर्फ ५७ केजी तौल समूहको फाइनलमा एचटुओका छेवाङ तामाङले कास्कीका साहिल लिम्बूलाई ४–० इस्पिलिटको आधारमा हराए ।
प्रतियोगिताअन्तर्गत पुरुष ६३.५ केजी तौल समूहमा ललितपुरका रोबिन केसीले भाइबका आशिष रिजाललाई वल्क ओभरको आधारमा पराजय गरेका छन् । छनोट प्रतियोगिताको ६७ केजी तौल समूहको पुरुषतर्फको फाइनलमा एसएसबिसीका भूगोल बम ठकुरीले केवाइबिसीका आदर्श कार्कीलाई युनानिमस ५–० को आधारमा पराजित गर्दै छनोट चरण पार गरेका छन् ।