कीर्तिपुर क्रिकेट मैदान ३०० दिनभित्रै सम्पन्न हुन्छ : मन्त्री चौधरी

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदान तीन सय दिनभित्रै निर्माण सम्पन्न हुने बताएका छन्।

वर्तमान सरकारको पहिलो निर्णय भएकाले उक्त मैदान तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्ने गरी मन्त्रालय अघि बढेको मन्त्री चौधरीको भनाइ छ। मंगलबार नेपाल विद्यार्थी संघ दोलखाले आयोजना गरेको स्व. भीमबहादुर तामाङ स्मृति नेविसंघ कप फुटबल प्रतियोगिताको उद्घाटन गर्न चरिकोट आएका मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले केपी ओली नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले उक्त अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए।

कीर्तिपुर खेलमैदान तीन सय दिनभित्र दर्शक बस्नका लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइटसहित सुविधा सम्पन्न संरचना बनाउने निर्णय केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको थियो।

मन्त्री चौधरीले पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई सरकारको तर्फबाट कर छुट गरेर ६५ लाख नगद शुक्रबार हस्तान्तरण गरिनेसमेत जानकारी दिए। दोलखालगायत हिमाली जिल्लाहरूमा पनि खेल क्षेत्रको विकासका लागि सरकारले महत्त्वपूर्ण योजना बनाइरहेको उनको दाबी थियो।

नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा दोलखाका १८ वटा माध्यमिक विद्यालयका खेलाडीहरूबिच प्रतिस्पर्धा हुनेछ।

सुझावित समाचार