राष्ट्रिय महिला लिग : चन्द्रपुरको पोस्टमा एपिएफको आधा दर्जन गोल

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

एपिएफ एफसीले राष्ट्रिय महिला फुटबल लिगमा सोमबार चन्द्रपुर नगरपालिकाविरुद्ध ६–० को फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफमा राष्ट्रिय टोलीका एक दर्जनभन्दा बढी खेलाडी आबद्ध छन् । एपिएफले लिगको सुरुवाती दुई खेलमा गोलका लागि संघर्ष गरेको थियो । तेस्रो खेलमा एपिएफले कमजोर प्रतिद्वन्द्वीविरुद्ध आधा दर्जन गोल गर्न सफल भयो । 

तेस्रो खेलमा एपिएफले सुधारिएको प्रदर्शन गरेको हो । एपिएफको एकपक्षीय खेलमा मिडफिल्डर रेनुका नगरकोटेले दुई गोल गरिन् । सविता रानामगर, रश्मिकुमारी घिसिङ, प्रीति राई र गीता रानाले समान एक गोल गरेका हुन् । एपिएफबाट भएको सबै गोल राष्ट्रिय खेलाडीले गरेका हुन् । रेनुका, सविता र रश्मि चन्द्रपुरकै पूर्वखेलाडी हुन् । 

लगातार दोस्रो जितसँगै तीन खेलमा सात अंक जोडेको एपिएफ तेस्रो स्थानमा उक्लिएको छ । यसअघि पुलिससँग गोलरहित बराबरीमा रोकिएको एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको थियो । चन्द्रपुरले तीन खेलमा मात्र दुई अंक जोडेको छ । चन्द्रपुरले पहिलो खेलमा कर्णालीसँग १–१ र दोस्रो खेलमा संकटासँग गोलरहित बराबरी खेलेको थियो । दिनको पहिलो खेलमा वालिङ नगरपालिकाले संकटा क्लबलाई १–० ले हरायो । 

दुवै हाफमा समान तीन गोल
साबिक विजेता एपिएफले कमजोर चन्द्रपुरविरुद्ध दुवै हाफमा समान तीन गोल गरेको थियो । चन्द्रपुरबाट खेल्ने खेलाडीमा रजनी थोकर मात्रै अनभुवी खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट खेलेकी छिन् । टोलीमा अधिकांश खेलाडी नेपालको युवा टिमबाट खेलेका छन् । खेलको १८औँ मिनेटमा सविताको गोलबाट एपिएफले अग्रता बनायो । खेलको ३२औँ मिनेटमा राष्ट्रिय टोलीकी कप्तान रेनुकाले एपिएफलाई २–० को स्थितिमा राखिन् । खेलको ३५औँ मिनेटमा रेनुकाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफ पहिलो हाफमा ३–० ले अघि बढ्यो । खेलको ५२औँ मिनेटमा रश्मिले एपिएफलाई ४–० को अग्रता दिलाइन् । खेलको ८४औँ मिनेटमा प्रीतिले गोल गरेपछि एपिएफ ५–० ले अगाडि बढ्यो । खेलको ८८औँ मिनेटमा एपिएफले पेनाल्टीमा गोल खेलमा ६–० को जित निकाल्यो । एपिएफकी गीताले पेनाल्टीमा गोल गरेकी हुन् । उनले आर्मीविरुद्ध पनि पेनाल्टीमै गोल गरेकी थिइन् ।

विदेशी खेलाडीको सहयोगमा वालिङ विजयी
सोमबारको पहिलो खेल संकटा र वालिङबिच भएको थियो । यी दुवै क्लबका आबद्ध विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । वालिङका विदेशी खेलाडीले नै निर्णायिक गोल गर्न सफल भइन् । वालिङ र संकटा दुवैले समान तीन विदेशी खेलाडी मैदान उतारेका थिए । एन्फा कम्प्लेक्समा संकटाकी गोलरक्षक ट्रेनिङ सेनेको गल्तीमा वालिङ १–० ले विजयी भयो । खेलको ३९औँ मिनेटमा वालिङकी सिसी नानटोन्गोले ज्याकलिन नसालीको पासलाई प्रहार गरेको बल ट्रेनिङ लाई लाग्दै गोल भएको थियो । लगातार दोस्रो जितसँगै तीन खेलबाट ६ अंक जोडेको वालिङ तेस्रो स्थानमा छ । यसअघि वालिङले कोशीसँग ४–० को हार व्यहोर्दा कर्णालीलाई ४–० ले नै हराएको थियो । दोस्रो हारसँगै संकटा समान खेलबाट एक अंकका साथ आठौँ स्थानमा छ । 

सुझावित समाचार