दुवै छिमेकी मुलुक भारत र चीनसँगको सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका– १, छायालेकमा नेपाल प्रहरीको चौकी छ । तर, उक्त चौकी रहेको कच्ची भवन जीर्ण छ, छानो चुहिने छ, झ्यालमा प्लास्टिकको छेकबार छ । यही जोखिमपूर्ण संरचनामा वर्षको ६ महिना बिताएर देशको सुरक्षामा खटिन विवश छन् प्रहरी ।
छायालेक प्रहरी चौकीमा १२ जनाको जनशक्ति तैनाथ छ । हरेक वैशाखमा छायालेक उक्लिने प्रहरी मंसिरको हिमपातसँगै छांगरू झर्छन् । हिउँदका ६ महिना अत्यधिक हिमपातका कारण यहाँ मान्छे बस्न सक्ने अवस्था नै रहँदैन ।
प्रहरी चौकीको नयाँ भवन निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको सुरक्षाकर्मीको गुनासो छ । जस्तापाताले छाएको छानो चुहिने भएकाले पानी पर्दा कतिखेर भत्किन्छ भन्ने डर रहेको त्यहाँ खटिएका प्रहरीको गुनासो छ । तर, ज्यान जोखिममा परेको दुःख बिसाउन पनि नाम लुकाउनुपर्ने उनीहरूलाई बाध्यता छ । नाम नखुलाइदिन सर्त राख्दै एक प्रहरीले भने, ‘जीर्ण भवनमा पानी पर्दा र हावाहुरी चल्दा सास्ती खेप्नुपरेको छ । जस्तापाताले छाएको छानो चुहिने छ । सुत्ने कोठामा झ्याल नहुँदा प्लास्टिकले छेक्नुपरेको छ । सुतेको वेला कतिखेर भत्किन्छ भन्ने डर छ ।’
डिएसपी शिवबहादुर सिंह जिल्ला प्रहरी कार्यालय दार्चुला
छायालेक प्रहरी भवन निर्माणका लागि विभागसँग माग गरिएको छ । चालू आर्थिक वर्षका लागि प्रहरी भवन निर्माणमा पहिलो नम्बरमा तिंकरको छायालेक र दोस्रो नम्बरमा महाकाली नगरपालिका– ९ दत्तु चौकी भवन बनाउने भनेर माग गरेका छौँ । सम्भवतः यो वर्ष बन्छ भन्ने आशा छ ।
नेपाल–चीन सीमास्तम्भसम्म जाने अधिकांश व्यक्तिहरूको वास छायालेक चौकीमै हुन्छ । भदौ पहिलो साता दार्चुलाका पत्रकार रमेशसिंह खत्रीलगायतको टोली जाँदा प्रहरीको यही जीर्ण भवनमा बसेको बताए । ‘सीमामा बस्ने प्रहरीलाई व्यवस्थित वासस्थान हुनुपर्नेमा लाजमर्दाे अवस्था छ,’ उनले भने, ‘साँच्चै राज्य सीमामा कति संवेदनशील छ भन्ने यसले पनि देखाउँछ ।’
विद्युत् नपुगेको यहाँ सोलारको उज्यालो मात्र छ । इन्टरनेटको सुविधा त टाढाको विषय । ‘हाम्रो गुनासो कसलाई भन्ने त ? सबैलाई यहाँको समस्याबारे अवगत छ । यहाँको चिसोमा बस्न सकिने अवस्था छैन । दाउरा पाउनै मुस्किल हुन्छ । यो अवस्थाबारे सरकारले सुनिदिए मात्रै सीमामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च हुन्छ,’ एक प्रहरीले भने, ‘जमिनमुनिबाट रुखको जरा निकालेर दाउरा बनाउनुपर्ने अवस्था छ । त्यही दाउरा बालेर चिसो छल्नुपर्छ ।’
नेपालतर्फ सुरक्षाकर्मीको बिजोग हुँदा भारतले आफ्ना सुरक्षाकर्मीका लागि सुविधासम्पन्न भवन बनाएको छ । विद्युत् सुविधा छ । हरेक कोठामा हिटर जडान गरिएको छ । उनीहरू वर्षभरि नै सीमा सुरक्षामा खटिन सक्ने अवस्था छ ।
समुन्द्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा छ छायालेक । व्याँस गाउँपालिका– १ को अन्तिम गाउँ तिंकरबाट एक घण्टा हिँडेर मात्रै छायालेक पुगिन्छ । छांगरूसम्म भारतीय गाडीमा रासन ढुवानी गरिन्छ । छांगरुबाट घोडा÷खच्चडमा ढुवानी गरेर यहाँ रासन खानुपरेको छ । छायालेक पुग्न नेपालबाट घोडेटो बाटोसम्म छैन । सुरक्षाकर्मीदेखि स्थानीयसम्मले भारतीय बाटो नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।
नेपाल प्रहरीको चौकीभन्दा ५० मिटर तल सशस्त्र प्रहरीको भने नयाँ भवन निर्माण भएपछि केही आडभरोसा भएकोे छ । सशस्त्र प्रहरी नम्बर ५० गुल्मबाट २५ सशस्त्र प्रहरी त्यहाँ बस्छन् ।
छायालेक प्रहरी भवनको लागि विभागसँग माग गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिवबहादुर सिंहले बताए । उनले भने, ‘चालू आर्थिक वर्षको लागि प्रहरी भवन निर्माणमा पहिलो नम्बरमा तिंकरको छायालेक र दोस्रो नम्बरमा महाकाली नगरपालिका– ९, दत्तु चौकी भवन बनाउने भनेर माग गरेका छौँ । सम्भवतः यो वर्ष बन्छ भन्ने आशा छ ।’
राज्यले सेवा–सुविधाको हिसाबले पनि विकट हिमाली क्षेत्रमा बस्ने सुरक्षाकर्मीलाई छुट्टै थप सुविधा दिएको छैन । सुरक्षाकर्मी बिरामी भइहाले पनि नजिक स्वास्थ्यचौकीसमेत छैन । छायालेकको सबैभन्दा नजिकको गाउँ तिंकर हो । त्यहाँ स्वास्थ्य संस्था छैन । कोही बिरामी भए पनि चार घण्टा बढी हिँडेर छांगरू नै झर्नुपर्छ ।
यहाँका स्थानीयले सामान्यतया गाउँ जाँदा औषधि बोकेरै जाने गरेको व्याँस– १ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए । ‘स्वास्थ्यचौकी भवन बनाउन सुरु गरेका छौँ, तर बजेट अभावले पूरा हुन पाएको छैन । तिंकरको स्वास्थ्यचौकी भवन बने स्थानीय र सुरक्षाकर्मीलाई समेत सहयोग पुग्थ्यो,’ उनले भने ।
छायालेक प्रहरी भवन निर्माणका लागि विभागसँग माग गरिएको छ । चालू आर्थिक वर्षका लागि प्रहरी भवन निर्माणमा पहिलो नम्बरमा तिंकरको छायालेक र दोस्रो नम्बरमा महाकाली नगरपालिका– ९ दत्तु चौकी भवन बनाउने भनेर माग गरेका छौँ । सम्भवतः यो वर्ष बन्छ भन्ने आशा छ ।