पावरलाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी आज सकिँदै

आइतबार, २३ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौंको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको नेपाल पावरलाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीमा १८ हजार व्यक्तिले अवलोकन गरेका छन् ।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त मेला सुरु भएको थियो । आइतबार सम्पन्न हुने मेलामा सयभन्दा बढी कम्पनीका डेढ सयभन्दा बढी ब्रान्डहरू रहेको कार्यक्रम संयोजक सिर्जल भट्टराईले जानकारी दिए ।  

प्रदर्शनीमा विशेष गरी ऊर्जा, घर निर्माण र भान्सामा प्रयोग हुने लाइटिङ सिस्टम, होम अप्लायन्सलगायत इलेक्ट्रिक सामग्री राखिएको आयोजकले जनाएको छ । नेपालमा बढ्दो विद्युत् उत्पादनको खपत विभिन्न विद्युतीय माध्यमबाट बढाउने उद्देश्यले पनि यो मेला आयोजना गरिएको आयोजकको भनाइ छ । साथै, मेलाले विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा पनि अत्यधिक टेवा पुगेको भट्टराईले बताए । 

सुझावित समाचार