कञ्चनपुरमा पछिल्ला वर्षहरूमा मानव–वन्यजन्तुबिच द्वन्द्वका घटना बढिरहेका छन्। हरेक वर्षजसो मानिस ठुला वन्यजन्तुको सिकार बनिरहेका छन् भने अन्य साना जनावरबाट समेत भौतिक तथा अन्नबालीमा क्षति भइरहेको छ। मानवबस्ती विस्तारको क्रमसँगै वन्यजन्तुका वासस्थान, आहार, हिँडडुल गर्ने करिडोर नासिँदै गएपछि वन्यजन्तु मानवबस्ती प्रवेश गर्ने र अन्नबालीसहित भौतिक संरचनामा क्षति गर्छन्।
प्रायः भारतीय दुधुवा नेसनल पार्कबाट अन्नबाली हुने सिजनका वेला सीमा पार गर्ने हात्तीको बथानले अधिक क्षति गर्ने गरेको छ। दुधुवा नेसनल पार्कदेखि लालझाडी मोहना संरक्षित वन क्षेत्रको बिचमा पुनर्वास नगरपालिका– १० र ११ पर्छ। सीमापारिबाट यता आउने हात्तीको समूहले दुधुवाबाट लालझाडी वनमा प्रवेश गर्दा पहिले प्रयोग गर्ने करिडोर नभेट्दा गाउँ प्रवेश गर्ने गरेको जानकारहरू बताउँछन्।
१६ सय १० वर्गकिलोमिटर क्षेत्रफल रहेको कञ्चनपुरमा २९ हजार ४१३ हेक्टर क्षेत्रफल वनजंगल रहेको छ। एक दशकको अवधिमा वर्षमा औसत एक मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएकाे तथ्यांक छ। कञ्चनपुरमा हात्तीसँगै बाघ र गैँडाको आक्रमण पनि बढ्दै गएको छ। डेढ वर्षअघि मात्रै खेतमा घाँस काट्न गएकी बेलौरी नगरपालिका– ८ पचुईकी ४० वर्षीया गंगा चन्द बाघको सिकार बनिन्। गाउँ पसेको पाटेबाघले उखुबारीमा घाँस काटिरहेको अवस्थामा आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। नियन्त्रणमा लिइएको उक्त बाघ अहिले ललितपुरस्थित चिडियाखानामा राखिएको छ।
गत वर्ष गैँडाको आक्रमणमा परेर बेलडाँडी गाउँपालिका– २ कालिकिचकी ५१ वर्षीया मोतीकुमारी बुढा (बेलमती)ले पनि ज्यान गुमाइन्। घरनजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै घाँस काट्ने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो। त्यसो त यसबिचमा जिल्लामा तीन हात्तीले पनि ज्यान गुमाइसकेका छन्।
१० वर्षमा हात्तीको आक्रमणबाट ११ मानिसले ज्यान गुमाए
१० वर्षअघि ११ असोज ०७१ सालमा दुधुवा नेसनल पार्कबाट आएको हात्तीको बथान पुनर्वासको विकास बस्तीमा पस्यो। हात्ती धपाउने क्रममा आक्रमणबाट पुनर्वास नगरपालिका– १० विकास बस्ती (साबिक बाइबिचुवा)का अन्दाजी ४९ वर्षीय गर्भुराम चौधरीले ज्यान गुमाए। सोही क्रममा ४४ स्थानीय किसानको धान र उखुबाली नष्ट भयो।
हात्तीको आक्रमणबाट गर्भुराम चौधरीले ज्यान गुमाएको दोस्रो वर्षमा फेरि अर्की महिलाले ज्यान गुमाइन्। बेलौरी नगरपालिका– ५ रामघाटकी ३५ वर्षीया सुन्दरी चौधरीले ज्यान गुमाइन्। २९ असोज ०७३ सालमा लालझाडी गाउँपालिका– ६ चान्देवमा श्रीमान् आशाराम चौधरीसँग साइकलमा यात्राको क्रममा हात्तीको बथानले आक्रमण गर्दा उनको मृत्यु भयो। आशाराम आफू भागेर बाँचे पनि जीवनसंगिनी गुमाए। चौधरीदम्पतीमाथि आक्रमण गरेको चार महिनापछि फेरि जंगली हात्तीले २१ माघ ०७३ सालमा पुनर्वास नगरपालिका– ९ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारमाथि आक्रमण गर्याे। दुधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले वृद्ध सुनारको ज्यान लियो।
२९ असोज ०७६ सालमा जंगली हात्तीले शुक्लाफाँटा नगरपालिका– १ बन्साहका ६५ वर्षीय बलदेव बोहरामाथि आक्रमण गरेर ज्यान लियो। बोहरा घरदेखि घरसायी कामले साइकल चढेर अर्को गाउँमा जाने क्रममा हात्तीको सिकार बन्नुपर्याे। शुक्लाफाँटा बन्साहका बोहराको ज्यान लिएको घटना सेलाउन नपाउँदै हात्तीको बथानले २५ मंसिर ०७६ मा दोधाराचाँदनी नगरपालिका– २ चाँदनीका ६ महिलामाथि आक्रमण गर्याे । जसमा दुई महिलाले ज्यान गुमाए, तीन घाइते भए। दोधाराचाँदनी– २ चाँदनीका ४२ वर्षीया विस्ना भट्ट (वसन्ती) र ५० वर्षीया भुरी बोहराले ज्यान गुमाएका थिए। भट्ट र बोहरासँगै रहेका चाँदनीकै २४ वर्षीया सुनिला विष्ट, २३ वर्षीया सरस्वती ओझा, ३३ वर्षीया कुमादेवी साउद र ३५ वर्षीया ललिता बोहरा घाइते भएका थिए।
उक्त घटनाको अर्को वर्ष १३ फागुन ०७७ सालमा पुनर्वास नगरपालिका– ९ (ख) गाउँकी ६२ वर्षीया धनादेवी थापाको भारतीय दुधुवा नेसनल पार्कमा हात्तीको आक्रमणबाट ज्यान गयो। त्यसको अर्को वर्ष ३ कात्तिक ०७८ मा शुक्लाफाँटा नगरपालिका– १२ कालागौडी दुबाहखल्लाका एक दम्पतीकै ज्यान गयो। ६६ वर्षीय ध्वजबहादुर कार्की र ५५ वर्षीया मथुरा कार्कीले हात्तीको आक्रमणबाट एकैपटक ज्यान गुमाए। कार्कीदम्पतीको ज्यान लिएको दुई महिना नबित्दै २५ मंसिरमा लालझाडी गाउँपालिका– ६ चान्देव (ढक्का शिविर)मा बस्दै आएका ४८ वर्षीय खगराज राना पनि हात्तीको आक्रमणमा परे।
रानाको मृत्यु भएको वर्ष दिन नपुग्दै शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाकी २२ वर्षीया मीरा जोशीले पनि ज्यान गुमाइन्। जोशीले ज्यान गुमाएको तीन महिनामै बेदकोट नगरपालिका– १ हात्तीथलाकी ६९ वर्षीया वृद्ध हिरादेवी धानुकको ज्यान गयो। हात्तीको आक्रमणमा परेर १० वर्षको अवधिमा ११ मानिसले ज्यान गुमाइसकेका छन् भने २० जना घाइते भएका छन्।
१० वर्षमा तीन हात्तीले ज्यान गुमाए
हात्तीको आक्रमणबाट मानिसको मात्र नभई मानिसको अव्यवस्थित क्रियाकलापका कारण वन्यजन्तुले ज्यान गुमाउने क्रमसमेत बढेको छ। पछिल्लो १० वर्षको अवधिमा कञ्चनपुरमा तीन हात्तीले ज्यान गुमाएका छन। ९ भदौ ०७४ मा पुनर्वास नगरपालिका– १० बाइसेबिचुवामा एक हात्तीले मानिसले राखेको विद्युतीय धरापमा परेर ज्यान गुमायो। त्यसपछि पुनर्वास– २ अमरैया उखुबारीमा अर्को हात्ती मृत फेला पर्याे। ३२ साउन ०८० मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र शुक्लाफाँटा नगरपालिका– ७ कालापानी वातावरण सामुदायिक वनको सेप्टी ट्यांकीमा परेर अर्को एक हात्ती मर्याे।