प्रचण्डमा कुनै संसदीय मूल्य–मान्यता छैन : शंकर पोखरेल

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण
प्रचण्डमा कुनै संसदीय मूल्य–मान्यता छैन : शंकर पोखरेल

फाइल तस्बिर

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सिर्जना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको आरोप लगाएका छन्। प्रेस चौतारी कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा गरेको भेटघाटमा महासचिव पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डमा कुनै संसदीय मूल्य र मान्यता नभएको टिप्पणी गरे।

प्रचण्डले सत्ता छोड्दा गलत र कुण्ठाग्रस्त अभिव्यक्ति दिएको भन्दै उनले त्यसले संसदमा प्रतिपक्षको मर्यादा नभएको देखाएको बताए। ‘विपक्षी दलको नेताका रूपमा संसदीय अभ्यास र प्रचलनविपरीत काम गरेका छन्,’ उनले भने, ‘संसदमा विपक्षी दलका नेताले नेपाल श्रीलंका र बंगलादेश बन्छ भनेर दिएको अभिव्यक्ति अराजनीतिक र असंसदीय हो।’

अहिले देशमा तीनवटा अतिवाद हाबी भएको भन्दै महासचिव पोखरेलले त्यसबाट सचेत रहन आवश्यक रहेको बताए। ‘जातीय अतिवाद, धार्मिक अतिवाद र धर्मान्तरले नेपालको मौलिक परम्परालाई ध्वस्त पार्न लागेको छ,’ उनले भने, ‘नेपालको मौलिक संस्कृतिको महत्वलाई हामीले बुझ्नुपर्दछ।’

युवामा पलायन, निराशा र कुण्ठा बढ्नुको कारण निर्वाहमुखी उत्पादनको ढाँचा भएको र त्यसलाई रोक्न विनाधितो कर्जा उपलब्ध गराउने सरकारले नीति ल्याउन लागेको पोखरेलको भनाइ थियो।

सुझावित समाचार