ब्राजिलमा एक्समाथिको प्रतिबन्धको नालीबेली

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

एक्समाथिको प्रतिबन्धले ब्राजिलका अधिकारी अब राष्ट्रको कानुनको अवहेलना गर्ने ठुला प्रविधि कम्पनीलाई सहन इच्छुक छैनन् भन्ने देखाउँछ

विश्वको पाँचौँ ठुलो इन्टरनेट प्रयोगकर्ता भएको ब्राजिलका अधिकारीले सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) माथि प्रतिबन्ध लगाएका छन् । प्रतिबन्ध अघिल्लो सप्ताहन्तमा लागू भएको थियो । एक्सका मालिक इलोन मस्क र ब्राजिलका सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्डर डे मोरेस संलग्न विवादबाट प्रतिबन्धको अवस्था भएको हो । मोरेसले चरमपन्थी सामग्रीको फैलावट रोक्न एक्सलाई उग्र–दक्षिणपन्थी प्रयोगकर्तामाथि रोक लगाउन आदेश दिएका थिए ।

अलेक्जेन्डर डे मोरेसद्वारा लगाइएको प्रतिबन्धले मस्कलाई अत्यधिक क्रुद्ध बनायो । मस्कले मोरेसलाई ‘नक्कली न्यायाधीश’को बिल्ला भिराएर ब्राजिल सरकारको आलोचना गरे । यससँगै उनले ब्राजिलको सत्ताले पारदर्शितासँग डराएर असहमतिलाई दबाउन कानुनी एवं आर्थिक माध्यम प्रयोग गरिरहेको पनि दाबी गरे । यी व्यक्तिगत आक्रमणलाई एकातिर राख्ने हो भने प्रतिबन्धले ब्राजिलका अधिकारी अब राष्ट्रको कानुनको अवहेलना गर्ने ठुला प्रविधि कम्पनीलाई सहन इच्छुक छैनन् भन्ने देखाउँछ । के अन्य देशले पनि ब्राजिलको कदम पछ्याउलान् ?

एक्समाथि प्रतिबन्ध किन ? : ब्राजिलले एक्समाथि एकाएक प्रतिबन्ध लगाएको होइन । सन् २०२० देखि २०२३ सम्म ब्राजिलको सर्वोच्च अदालतले सामाजिक सञ्जालसँग सम्बन्धित तीनवटा प्रमुख आपराधिक अनुसन्धान थालेको थियो । पहिलो धोखाधडीयुक्त समाचारबारेको अनुसन्धान थियो । दोस्रो अनुसन्धान ‘मिलिसियस डिजिटाइस’ भनिने ती संगठित समूहविरुद्ध थियो, जसले डिजिटल मञ्चमा भाष्य बदल्ने र संलग्नतामा हेरफेर गर्ने काम गरेका थिए । तेस्रो, सन् २०२२ को आमचुनावमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको पराजयपछि सन् २०२३ मा ब्राजिलको कंग्रेसमा भएको आक्रमणमा संलग्न व्यक्ति र समूहमाथिको अनुसन्धान थियो । त्यसपछि यस वर्ष अप्रिलमा डे मोरेसले मस्कलाई बोल्सोनारोको सन् २०२२ को पराजयबारे मिथ्या र दुराशययुक्त सूचना फैलाउने उग्र–दक्षिणपन्थी प्रयोगकर्ताको एकाउन्ट बन्द गर्न आदेश दिएका थिए ।

एक्सले यस्तो आदेश पहिलोपटक पाएको भने होइन । उदाहरणका लागि, जनवरी २०२३ मा कंग्रेसमा भएको आक्रमणपछि ब्राजिलको सर्वोच्च अदालतले एक्स र अन्य सामाजिक सञ्जाललाई केही प्रयोगकर्ताको एकाउन्ट बन्द गर्न आदेश दिएको थियो । त्यतिखेर मस्कले अदालतको आदेश मानेका थिए । यद्यपि यसपटक मस्कले अदालती आदेश अस्वीकार गरे र पछि ब्राजिलमा एक्सका कानुनी प्रतिनिधिलाई हटाए । ब्राजिलको कानुनमा विदेशी कम्पनीको मुलुकमा कानुनी प्रतिनिधित्व हुनैपर्ने प्रावधान छ । डे मोरेसले मस्कलाई नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न समयसीमा पनि दिएका थिए । प्रविधि अर्बपतिले यो माग पूरा गरेनन् । नतिजा एक्समाथि प्रतिबन्ध लाग्यो । यसबाहेक डे मोरेसले मस्कको इन्टरनेट स्याटेलाइट सेवा स्टारलिंकको वित्तीय खाता पनि बन्द गरिदिए । मस्कले ब्राजिलमा कानुनी प्रतिनिधि मनोनयन गर्ने र करिब ३२ लाख ५६ हजार डलरबराबरको जरिवाना तिर्नेलगायत अदालतको आदेश पालना नगरेसम्म एक्समा प्रतिबन्ध जारी रहनेछ ।

अब के हुन्छ ब्राजिलमा ? : प्रतिबन्धअघि ब्राजिलमा करिब दुई करोड २० लाख एक्स प्रयोगकर्ता थिए । एक्समा पहुँच पाउन प्रयास गर्ने जोकोहीले अब प्रतिदिन आठ हजार सात सय डलरसम्मको जरिवानाको सामना गर्नुपर्नेछ । प्रतिबन्धपछि धेरै पूर्वएक्स प्रयोगकर्ता अन्य सामाजिक सञ्जालमा सरेका छन् । उदाहरणका लागि पाँच लाखभन्दा बढी मानिस माइक्रोब्लगिङ प्लेटफर्म ब्लुस्कीमा सामेल भएका छन् । ब्लुस्कीको ब्राजिलको संलग्नता ‘हालसम्मकै उच्च’ बनिरहेको छ ।

यो प्रतिबन्ध ब्राजिलमा सञ्चालित सामाजिक सञ्जालविरुद्धको व्यापक लडाइँको एक हिस्सा हो । डे मोरेस यसका एक प्रमुख अगुवा हुन् । उदाहरणका लागि यस वर्षको सुरुमा एक अन्तर्वार्तामा उनले ‘ब्राजिलका जनताका लागि अभिव्यक्ति स्वतन्त्रता आक्रमणको स्वतन्त्रता होइन । जनता वाक्स्वतन्त्रता घृणा, नश्लभेदी, महिलाद्वेषी र समलिंगीद्वेषी भावना फैलाउने स्वतन्त्रता होइन भन्नेबारे राम्ररी अवगत छन्’ भनेका थिए । तर, उग्र–दक्षिणपन्थी समूह र बोल्सोनारो समर्थक असहमत छन् । यो तप्का प्रतिबन्धको विरोधमा धेरै मुखर भएका छन् र सर्वोच्च अदालतविरुद्ध उभिएका छन् । यो प्रतिबन्धले विद्यमान सामाजिक तनावलाई निम्त्याउने सम्भावना छ । ब्राजिलको कानुनअनुसार सर्वोच्च अदालतका अन्य न्यायाधीशले हाल प्रतिबन्धको मूल्यांकन गरिरहेका छन् । यी न्यायाधीशले प्रतिबन्धलाई कायम राख्ने निर्णय गर्न सक्छन् । तर, एक्समा पहुँच प्राप्त गर्न खोज्ने देशका मानिसका लागि तर्जुमा गरिएको जरिवाना उल्ट्याउन सक्छन् । वा, न्यायाधीशले प्रतिबन्ध नै उल्ट्याउन सक्ने सम्भावना पनि छ ।

के अन्य मुलुकले ब्राजिलको कदम पछ्याउलान् ? : प्रतिबन्धपछि सामाजिक सञ्जालको पोस्टमा मस्कले अमेरिकालगायत अन्य देशले पनि ब्राजिललाई पछ्याउने र आफ्नो सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने दाबी गरेका छन् । तर, यो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण छैन र ब्राजिलमा लगाइएको प्रतिबन्ध विश्वमा अन्यत्र लागू पनि हुँदैन । यद्यपि अन्तर्राष्ट्रिय रूपमा विशाल सामाजिक सञ्जाल कम्पनी प्रतिबन्धित हुन सक्छन् र यी कम्पनी राष्ट्रिय कानुन वा अन्य कुनै शक्तिभन्दा माथि छैनन् भन्ने देखिएको छ । उदाहरणका लागि गत साता फ्रान्सेली प्रहरीले टेलिग्रामका संस्थापक पावेल दुरोभलाई उनको प्रत्यक्ष सन्देश मञ्च टेलिग्राममा अपराधलाई सहजीकरण गरेको आरोपमा गिरफ्तार गरेको थियो । अस्ट्रेलियालगायत अन्य मुलुकले सामाजिक सञ्जालको नियमनमाथि चासो दिइरहेका छन् । र, यी मुलुकले यी दुई मामिलामा के निर्णय हुन्छ भनेर पक्कै पनि नजिकबाट नियालिरहेका छन् ।

(चाउसियर क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी डिजिटल मिडिया रिसर्च सेन्टरका उत्तर–विद्यावारिधि अनुसन्धान सहायक हुन्) 
द कन्भर्सेसनबाट

सुझावित समाचार