प्रेरक प्रसंग : याचकको पछुतो

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

एक याचक हरेक बिहान भिक्षाटनका लागि कुटीबाट निस्किँदा झोलीमा एक मुठी जौको सानो पोको राखेर निस्किन्थे । घरबाट निस्कँदा झोलीमा केही बोकेर निस्केपछि उनलाई देख्नेजति सबैले उनलाई अरूले पनि केही दिएको ठानेर भिक्षादान गर्छन् भन्ने उनको बुझाइ थियो । पूर्णिमाको दिन थियो । याचकलाई त्यस दिन आफूमाथि ईश्वरको कृपा भयो भने साँझसम्म त पक्कै झोली भरिनेछ भन्ने विश्वास थियो । यही समयमा उनले आफू उभिएको सडकबाटै राजाको सवारी भइरहेको देखे । उनको खुसीको सीमा रहेन । 

राजाको सवारी देख्दा याचक असाध्यै खुसी भए । उनले सोचे– आहा ! आज त राजाको दर्शनसँगै उहाँबाट प्राप्त हुने दानबाट मेरो दरिद्रता हट्ने भयो । राजाको सवारी नजिक आउँदै गर्दा याचकको उत्तेजना पनि निकै बढ्यो । याचकको नजिकै आइपुगेपछि राजाले आफ्नो रथ रोक्न लगाए । याचकलाई आफ्नो सास रोकिएला जस्तो भइरहेको थियो । तर, राजाले उनलाई केही भिक्षा दिनुका साटो आफ्नो च्यादर याचकको अगाडि फैलाएर भिखको याचना गरे । याचक बडो अलमलमा परे । के गर्ने र के नगर्ने भनेर उनले निर्णय गर्न सकेनन् । राजाले पुनः याचना गरे । याचकले आफ्नो झोलीमा हात हाले । तर, जहिल्यै अरूसामु हात थाप्ने बानी परेका याचकलाई राजालाई केही दिन निकै कठिन भयो । 

याचकले जसोतसो झोलीबाट जौका दुई दाना निकाले र राजाको च्यादरमा हालिदिए । राजा उनलाई धन्यवाद दिएर अघि बढे । त्यस दिन याचकले खासै राम्रो भिक्षा पाएनन् । उनलाई आफूले राजालाई दुई दाना जौ दिनुपरेकामा निकै दुःख लागिरह्यो । साँझ कुटीमा पुगेपछि याचकले दिनभरिको भिक्षा एक च्यादरमा खन्याए । भिक्षाबाट दुई दाना जौ आकारका सुन निस्किए । उनी आश्चर्यमा परे । उनलाई थाहा भयो, यो सब उनले गरेको दानका कारण सम्भव भएको थियो । तर, राजालाई भएभरको जौ दिन नसकेकोमा उनलाई बडो पछुतो भयो ।

सुझावित समाचार