नेपाल आयल निगम लिमिटेडको झापा, मेचीनगर–१३ स्थित जग्गामा पुरानो धनीले हकदाबी गर्दै दायर गरेको मुद्दामा जिल्ला अदालत, झापाले पुनः नापजाँच गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा मंगलबार दुवै पक्षका वकिलले बहस गरेपछि पुराना धनी छत्रबहादुर कार्की र उनकी बहिनी रिताले हकदाबी गरेको कित्ता नम्बर १४० को एक बिघा १० कट्ठा र कित्ता नम्बर १२६६ मा पर्ने १९ कट्ठामध्ये ७ कट्ठा जमिन र निगम स्वामित्वमा रहेको थप २० वटा कित्तामा रहेको सबै जग्गाको पुनः नापजाँच गर्न इजलासले आदेश दिएको स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए।
‘मुद्दा रहेको जग्गामा आयल निगमको विकास निर्माणसँग सम्बन्धित आयोजनासमेत प्रभावित रहेको देखिँदा प्राथमिकतामा राखी स्रेस्तेदारले अनुगमन गरी शीघ्र नापनक्सा कार्य सम्पन्न गरी पेस गर्नू’ अदालतको आदेशमा भनिएको छ। आदेशमा छिटो नापनक्सा गर्नु भनेकाले नापी कार्यालयबाट यसअघि भएको नापजाँचको विवरण र नाक्साको प्रिन्ट तथा मालपोत कार्यालयबाट जग्गाको स्रेस्ता उपलब्ध गराउन पत्राचार भइसकेको स्रेस्तेदार सिंहले जानकारी दिए।
‘नापी र मालमोतबाट आवश्यक कागजात आउनासाथ जग्गाको नापजाँच कार्य थालिहाल्छौं,’ सिंहले भने। उक्त जग्गामा भारतको सिलगुढीदेखि ५० किलोमिटर लामो पाइपलाइन बिछ्याएर ल्याउने र ४५ हजार किलोलिटरभन्दा बढी क्षमताको भण्डारण गृह बनाउने निगमको योजना छ। भारतीय अनुदानमा बन्ने यस परियोजनाको आगामी एक महिनाभित्र इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग सम्झौता हुन लागेकाले जग्गा विवाद छिटो टुंग्याउनुपर्ने बाध्यता छ।
आयल निगमलाई सात वर्षअघि जग्गा बिक्री गरेका स्थानीय कार्की दाजुबहिनीले सोही जग्गामा अहिले हकदाबी गरेर मुद्दा हालेको निगम अधिकारीको भनाइ छ। गत फागुनमा आयल निगमले नापी कार्यालय, झापाको सहयोगमा सम्पूर्ण जग्गाको नापजाँच गरी आफ्नो स्वामित्वको २३ बिघा ३ कट्ठा १३ धुर जग्गामा तारजाली गरेको थियो। निगमले तारजाली गरेको जग्गाभित्र स्थानीय छत्रबहादुरले १ बिघा १० कट्ठा र रिताले ७ कट्ठा आफ्नो निजी जग्गा परेको भन्दै अदालतमा रिट दायर गरेका हुन्।
यस्तो छ अदालतले गरेका तीन आदेश
जग्गा विवादसम्बन्धी मुद्दा छिटो किनारा लगाउने जिल्ला अदालत, झापाले तीन महत्त्वपूर्ण आदेश गरेको छ। अदालतले रिता र छत्रबहादुरले हकदाबी गरेको र निगमले तारजाली गरेको सबै जग्गाको नक्सा प्रिन्ट झिकाउन आदेश दिएका छ।
त्यस्तै, सबै जग्गाको दर्ता स्रेस्ता मालपोतबाट झिकाउने र निगमले तारजाली गरेको सबै जग्गाको पुनः नापजाँच गरी प्रतिवेदन बुझाउन आदेश भएको छ। अदालतले छिटो नापनक्सा गरी प्रतिवेदन दिन आदेश दिएकाले जग्गाको विवाद चाँडै टुंगिने अपेक्षा गरेको आयल निगमको परियोजना प्रमुख प्रदीप यादवले बताए।
‘मुद्दा मामिलाका कारण चैत पहिलो सातादेखि परियोजनाको काम अघि बढाउन सकिएको छैन। अब छिटो नापनक्सा गर्नु भन्ने अदालतको आदेशका कारण विवाद चाँडै सल्टने आशामा छौँ,’ उनले भने। यसअघि पनि नापी कार्यालयका अधिकृतबाट नापजाँच गराई जग्गाको साँध सिमाना तय गरी तारजाली लगाइएको उनले जानकारी दिए।