रिडर्स पब्लिक हाइस्कुल फुटबल खेलको क्षेत्रमा जिल्लामा अब्बल बन्दै गएको छ । रिडर्सले भर्खरै पाँचौँ पुल्चोक कप माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिताको उपाधि जितेको छ। यो कप रिडर्सले लगातार दुईपटक आफैँले कब्जा गरेको हो। रिडर्सले सिद्धबाबा माविलाई १–० गोल अन्तरले पराजित गरेको थियो । पुल्चोक कप छात्रा फुटबल प्रतियोगिता ०७६, ०७७ र ०७९ मा लगातार उपाधि चुमेको सिद्धबाबा माविलाई ०८० र ०८१ मा रिडर्सले ब्रेक गरेको छ ।
फुटबलमा रिडर्सको विगत पनि राम्रो देखिएको छ। रिडर्स पब्लिक हाइस्कुलका सूचना अधिकारी पुष्कर खड्काका अनुसार ०६२ सालमा पुलिस कप फुटबल, ०७३ सालमा फर्वाड एजुकेसन कप फुटबल, ०७५ सालमा कक्षा १० सम्मको अनेरास्ववियु कप छात्र फुटबल र पिपल्स भोलेन्टियर कप फुटबलकाे उपाधि रिडर्सले जितेको छ । फोर्टिन स्टार कप छात्र फुटबलमा रिडर्स उपविजेता बनेको थियो ।

पुल्चोक स्पोर्टस क्लबले ०७६ सालदेखि जिल्लामा फुटबल प्रतियोगिता गर्दै आएको छ। पाँचौँ पुल्चोक कप फुटबल प्रतियोगितामा जिल्लाभरका १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । रिडर्सले पाँचौँ पुल्चोक कप फुटबलमा उपाधिसँगै थुप्रै विधाका पुरस्कारसमेत जितेको छ । विद्यालयकी खेलाडी रन्सु बराल सर्वश्रेष्ठ खेलाडी, सोनिया भुजेल उत्कृष्ट डिफेन्डर, बेबिसा सोमै उत्कृष्ट गोलरक्षक, जेनिशा बराल सर्वाधिक गोलकर्ता र शिक्षक कल्याण भुजेल उत्कृष्ट प्रशिक्षक बनेको सूचना अधिकारी खड्काले बताए । रिडर्सले उपाधि चुम्ने खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ ।
खेलाडीको मिहिनेत र ऊर्जाको कदरस्वरूप विद्यालयमा सम्मान कार्यक्रमको आयोजना गरिएको रिडर्स पब्लिक हाइस्कुलका संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीले बताए। उनले आफूहरूले विद्यालयस्तरमा छात्र–छात्रा खेलाडी उत्पादनमा प्रोत्साहन गरे पनि माथिल्लो तहमा पुग्न राज्यको तर्फबाट कुनै आकर्ष नरहेको बताए । क्लबले चन्दाको भरमा पाँचौँपटक जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगिताको आयोजना गरेकाे हाे ।

खेलमैदानमा थुप्रै सम्भावना भएका छात्रा खेलाडी भए पनि उपल्ला तहहरूका प्रतिस्पर्धाहरूमा एकजना पठाउन मुस्किल रहेको पुल्चोक स्पोर्टस क्लबमा अध्यक्ष सन्तोष न्यौपानेले गुनासो गरे। उनले चिदिचौरमा फुटबल खेलाएका राष्ट्रिय स्तरका प्रशिक्षकले समेत खेलाडीको प्रशंसा गरेर खेलमा खेलाडी माग्दासमेत दिन नसकिएको बताए । ‘खेलले नाममा मात्रको महिला अधिकारको अनुभूति गरेँ। अगाडि बढ्न महिलाको बाधक महिला नै रहेछन्,’ उनले भने, ‘राज्य संयन्त्र त परको कुरा।’