तीनै तहका सरकारको स्थायी प्रतिपक्षका रूपमा मिडिया देखिन थालेपछि जनविश्वास झनै बढेर गएको छ
मिडियालाई राज्यको चौथो अंगका रूपमा हेरिन्छ । तर, आजको विज्ञान प्रविधिको युगमा मिडिया राज्यको पहिलो अंगकै रूपमा देखिन थालेको छ । भुँइमान्छेदेखि सचेत नागरिकसम्म यसको प्रभाव देख्न सकिन्छ । जब कि मिडिया आफैँमा समस्या समाधान गर्ने निकाय होइन, सूचना र सन्देश सम्प्रेषण गर्ने एउटा माध्यम मात्र हो । एउटा मिडिया, पत्रकार वा समाजिक सञ्जाल चलाउनेले गलतलाई सत्य भनिदियो भने पनि तत्काल मानिसको ठुलो जमातले आँखा चिम्लेर विश्वास गरिरहेका हुन्छन् । राज्य र तिनका निकाय तथा सामाजिक संघसंस्थाले जतिसुकै राम्रो काम गरे पनि विश्वास गर्ने अवस्था बन्न सकिरहेको छैन । किनभने इतिहासदेखि आजसम्म राज्यका गतिविधि र क्रियाकलापबाट नागरिक आजित छन् । त्यसैले, आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अन्तिम अस्त्रका रूपमा नागरिकले मिडियालाई स्विकार्न थालेका छन् । मिडियामाथि नागरिकको आशा र भरोसा दिनानुदिन बढिरहेको छ भने राज्य र शासकमाथिको आशा र भरोसा घट्दो छ ।
उहिले ‘न्याय नपाए गोरखा जानू’ भन्ने उक्ति चलेको थियो, अहिले न्याय नपाए मिडिया खोज्नु भन्ने भाष्य निर्माण हुँदै छ । राज्यमाथिको विश्वास गुम्दो र गिर्दो अवस्थामा छ । तर, कतिपय अवस्थामा केही मिडिया, पत्रकार र सामाजिक सञ्जाल सञ्चालकले यसलाई दुरूपयोग नगरेका भने होइनन् । उनीहरूमध्ये कतिपयले मिडिया, पत्रकारिता तथा सामाजिक सञ्जालको मूल्य र मान्यता पनि परिपालन गरिरहेका छैनन् । उनीहरूले देश, समाज र नागरिकका समस्यालाई कतिपय अवस्थामा अतिरञ्जित तरिकाले प्रकाशन, प्रसारण गरेर मिलेर बसेको समाज, परिवार र व्यक्तिबिच क्रमभंग हुने गरी आफ्नो व्यावसायिक स्वार्थ पूरा गरिरहेका हुन्छन् । तर, मूलधारका मिडियाको विश्वसनीयताले भने समाजमा सकारात्मक प्रभाव पारिरहेकै हुन्छ । कुनै किसिमको घटना, दुर्घटना, न्याय र मुक्ति तथा हक–अधिकारलगायत कुरा आयो भने पहिला राज्य र तिनका निकायलाई सम्झिनुपर्ने हो । तर, यहाँ मिडियामा पुग्ने, पत्रकारलाई सम्झिने र भरोसा गर्ने वातावरण बनेको छ । राज्यका निकायलाई भन्दा मिडियालाई विश्वास गर्न थालेका छन्, मानिसहरूले । यतिसम्म कि एउटा व्यक्तिको घरझगडामा समेत मिडियाकै प्रयोग हुन थालेको छ । पछिल्लोपटक समाजको गरिबी, बेरोजगारी, भोकमरी, भ्रष्टाचार र बेथितिदेखि स्वास्थ्योपचार तथा कानुनी जटिलतामा पनि मिडियाले नै ‘कमान्ड’ गरिरहेको आभास हुन्छ । यसरी मिडिया नभई केही पनि नहुने स्थितिको सिर्जना किन हुँदै छ ? यो स्थिति कसले निर्माण गर्दै छन् ? विषय गम्भीर अवश्य छ ।
अहिले मिडियामा नपुगी केही पनि हुँदैन भन्ने सामाजिक मनोविज्ञानको विकास भइरहेको छ । जसको मिडियामा पहुँच छैन, उसले केही पनि प्राप्त गर्न सक्दैन । भएको चिज पनि गुम्छ र आजको युगको प्रत्याभूति गर्न पनि कठिन छ भन्ने मनोविज्ञानले समाज ग्रसित छ । मिडिया र पत्रकारले चाहेको खण्डमा जे पनि गर्न सक्छ भन्ने भ्रामक विश्वास समाजमा छ । त्यसैले, सामाजिक सञ्जालतर्फ मानिसको आकर्षण दिनानुदिन बढ्दै गएको छ । च्याउझैँ उम्रिएका केही पत्रकार, मिडिया तथा विभिन्न समाजिक सञ्जाल चलाउनेहरूले यसको फाइदा उठाइरहेका छन् । यसरी कतिपय अवस्थामा मिडिया, पत्रकारिता तथा समाजिक सञ्जालको आधारभूत मान्यतालाई ख्यालै नगरी कानुनी राज्यको धज्जी उडाउने प्रवृत्ति शासक प्रशासकले बिगारेको देशभन्दा सयौँ गुणा खतरनाक साबित भइरहेको पनि छ ।
पछिल्लोपटक मुठीभर शासकले राज्यशक्तिको चरम दुरूपयोग गरेको २५ भन्दा बढी काण्ड सार्वजनिक भइसकेका छन् । जुन काण्डलाई सर्वसाधारण नागरिकसम्म पुर्याउनमा मिडियाले गहन भूमिका निर्वाह गरेका छन् । यतिवेला तीनै तहका सरकारको स्थायी प्रतिपक्ष नै मिडिया देखिएको छ । जसले गर्दा मिडियाप्रतिको जनविश्वास झनै बढेर गएको छ । विभिन्न काण्ड र घटनाहरू जसरी एकपछि अर्को गरी सतहमा आए, ती सबै कार्य मिडियाले गर्दा नै सम्भव भएको हो भन्ने बुझाइ आमरूपमा परेको छ । जसलाई चिर्न जरुरी छ ।
गिरीबन्धु टी स्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, टीकापुर र बालुवाटार जग्गा प्रकरण, टेरामक्स प्रकरण, बुढीगण्डकी जलविद्युत् काण्ड, यती र ओम्नी, वाइडबडी काण्ड, एनसेल काण्ड, पशुपतिको शवदहन मेसिनदेखि लुम्बिनी विकास कोषका पदाधिकारी नियुक्ति प्रकरणसम्म, बाँसबारी तथा सरकारी उद्योग काण्ड, सुन काण्ड, ७५ करोड कमिसनको अडियो टेप प्रकरणलगायत काण्डैकाण्ड र प्रकरणले यतिवेला देश आजित छ । यसलाई आमरूपमा सार्वजनिक गर्नेदेखि खबरदारी गर्नेसम्मको भूमिका मिडियाले निर्वाह गरिरहेका छन् । सर्वसाधारण नागरिकको आधारभूत समस्यादेखि मिटरब्याजी समस्या, बैंक, लघुवित्त, सहकारीलगायत वितीय समस्या, गरिबी, बेरोजगारी, भूमिहीन, सुकुम्बासी, नागरिकता, स्वास्थ्य, शिक्षा तथा भ्रष्टाचार र बेथितिसम्मका समस्या र मुद्दा यतिवेला मिडिया खबरदारीको केन्द्रमा छन् ।
उल्लिखित काण्डमा नेतादेखि कर्मचारीसमेत मुछिएका छन् । यसमा पछिल्लो पुस्ताका नेताको सहभागिता कम देखिन्छ । कांग्रेस, एमालेलगायत राजनीतिक दलको आफ्नो राजनीतिक विचारधारा फरक देखिए पनि राज्यको बेथिति र भ्रष्टाचारमा उनीहरूको समान सहभागिता देखिन्छ । उनीहरूबिच लहरो तान्दा पहिरो जाने स्थिति छ । उनीहरू शासनसत्तामा आएदेखिका फाइल राम्रोसँग खोल्दै जाने हो भने कतिपय स्वर्गवास भइसकेका नेता पनि चोखा नदेखिने अवस्था छ । त्यसैले, उनीहरू मिलेरै यी काण्ड दबाउन र पचाउन चाहन्छन् । र, अन्य काण्ड पनि खोतल्न नसक्ने गरी मिलेर आफ्नो सत्ता र शक्तिको गठजोड प्रदर्शन गर्दै छन् । लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध दुईदलीय प्रणालीको आवश्यकता, औचित्य र खाँचोको पनि बहस उचालिँदै छन् । र, फेरि ती दुई दल भनेका कांग्रेस र एमाले नै हुन् भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ । नयाँ राजनीतिक दल, विचार र नेतृत्वलाई योजनाबद्ध रूपमा निरुत्साहित र सखाप गर्न खोजिँदै छ ।
मिडिया प्रभावकै कारण पछिल्लोपटक अमेरिका, दक्षिण अफ्रिका, भारत, बेलायत, बंगलादेश र पाकिस्तानलगायत मुलुकमा राजनीतिक दल र नेतृत्वमा ठुल्ठुला फेरबदल भइरहेका छन् । नेपालमा पनि यसको प्रभाव बढ्दो छ । ०७९ को निर्वाचनमा मिडिया र सामाजिक सञ्जालकै प्रभावका कारण डा. सिके राउत, रवि लामिछाने, बालेन शाह र हर्क साम्पाङहरूको उदय सम्भव भएको हो । जो संख्यामा सानो देखिए पनि प्रभावमा बलिया छन् । राज्य, राज्यका निकाय तथा प्रहरी प्रशासन र अदालतले नागरिकको सही न्याय र अधिकार, शान्ति, सुरक्षा तथा हक–अधिकारको प्रत्याभूति दिन सक्दैन भन्ने बुझाइ आमरूपमा व्याप्त छ । यसकारण पनि मिडियातिर नागरिकको आकर्षण र विश्वास बढ्दो छ । आमसञ्चारको बदलिएको परिदृश्यले अकर्मण्य दल र तिनको सत्तामाथि चुनौती थपिदिएको छ र उनीहरू सच्चिनुपर्ने या सकिनुपर्ने स्थितिको सामना गरिरहेका छन् ।
एउटा मिडिया, मिडियाकर्मी तथा खोजमूलक पत्रकारितालगायत सामाजिक सञ्जाल छन्, उनीहरूबिच ठुलो अन्तर छ । उनीहरूका आफ्नै काम, कर्तव्य र मूल्य–मान्यता तथा मापदण्ड छन् । तर, उनीहरूको सूचनाका प्रापक नागरिक नै हुन् । हामीले यो समानता र अन्तर बुझ्न सकेका छैनौँ । यतिसम्म कि कतिपय विषयवस्तुबारे सम्बन्धित व्यक्तिलाई पनि थाहा हुँदैन । तर, क्यामेरा र कलम बोकेर कुदिरहेका हुन्छन् । विभिन्न चुनौती र जोखिम मोलिरहेका हुन्छन् । मिडियाको ओज र गरिमाको दुरुपयोग भइरहेको हुन्छ । जसलाई राज्यले समेत नियन्त्रण र नियमन गर्न सकिरहेको छैन ।
सूचना सम्प्रेषणको उद्देश्य एउटै भए पनि सरकारी मिडिया र निजी मिडियामा ठुलो अन्तर छ । एउटाले सरकारी क्षेत्रको पक्षमा मात्र वकालत, सेवा र संरक्षण गर्ने, अर्काले निजी र व्यावसायिक क्षेत्रलाई मात्र प्रोत्साहन, सेवा र संरक्षण गर्ने प्रवृत्तिले ग्रसित छन् । यो प्रवृत्तिले भुइँमान्छेको आवाज बोल्न सक्दैन । जब कि सूचनाको स्रोत जनसर्वसाधारण नै हुन् । मुठीभरका शासक प्रशासक होइनन् । तर, हामी त्यतै लम्किरहेका देख्छौँ । यसले सर्वसाधारण नागरिकमाथि ठुलो अन्याय हुन्छ ।
यसरी मिडिया क्षेत्रमा पनि सबैले आ–आफ्नो वर्गको सेवा र संरक्षण गरिरहेका छन् । कसैले पार्टीको झन्डा बोकिरहेका छन् भने कसैले आफ्नो व्यावसायिक झन्डा बोकिरहेका छन् । त्यति मात्र छैन, कतिपय मिडियाले समाजको सकारात्मक कार्यलाई मात्र आफ्नो खोजमूलक सूचनाका रूपमा लिइरहेका छन् भने कतिपयले समाजका नकारात्मक पक्षलाई मात्र आफ्नो सूचनाका रूपमा लिइरहेका हुन्छन् । यसरी मिडिया क्षेत्रमा पनि असमानता र राजनीतीकरणको प्रवेश छ । सकारात्मक र नकारात्मक सूचना नागरिक आफैँले छुट्याउन सक्नुपर्छ, जुन क्षमता आमनागरिकमा छैन । यसले समाजमा गलत कार्य र प्रवृत्तिले झनै मलजल पाइरहेका हुन्छन् । त्यसैले, मिडिया क्षेत्रमा पनि व्यापक परिवर्तन र सुधारको खाँचो छ । राज्यले यसमा वेलैमा ध्यान दिन जरुरी छ । जसले गर्दा सर्वसाधारण नागरिकले केही युट्युबर या पत्रकारलाई मात्र सम्झिने र खोज्ने अवस्था आउनेछैन । यसका लागि सम्पूर्ण मिडियालाई समान रूपमा सम्झिने र खोज्ने खालको दृष्टिकोण र नीति–नियमको तर्जुमा गर्न जरुरी छ ।