ओली–बालेन आमने–सामने- ‘म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ’

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

बालश्रमशोषणमा मुछिएकी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई कारबाही नगरिएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारविरुद्ध निरन्तर प्रहार गरेका छन् । त्यससम्बन्धी आफ्नो स्टाटससमेत हटाइएको भन्दै उनले थप आक्रोश व्यक्त गरेका छन् । उनले मंगलबार लेखेका छन्, ‘पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’ 

शर्मालाई पक्राउ नगरिएको विषयमा आइतबार उनले लेखेको फेसबुक पोस्ट धेरै उजुरी आएको भन्दै फेसबुकले हटाइदिएको बालेनको सचिवालयले जनाएको छ । गलत पोस्ट राखेको भन्दै एमालेका नेता तथा कार्यकर्ताले बालेनको आलोचना गर्दै सो पोस्टविरुद्ध फेसबुकलाई उजुरी गरेका थिए । 

प्रदेश सांसद शर्माको तस्बिर राखी उनलाई पक्राउ नगरिएकोमा सो पोस्टमा बालेनले प्रधानमन्त्री ओलीसँग जवाफ मागेका थिए । सोमबार त्यही विषयमा उनले विस्तृत विवरण राखेका थिए भने मंगलबार अर्को पोस्ट राखेर आक्रोश व्यक्त गरेका हुन् । यसरी ओलीविरुद्ध बालेनले निरन्तर प्रहार गरेका थिए । त्यस विषयमा ओलीले केही बोलेका छैनन् भने पार्टीका नेता–कार्यकर्ताले भने आक्रामक रूपमा सामाजिक सञ्जालमार्फत बालेनको आलोचना गरिरहेका छन् । 

काठमाडौं प्रहरीले अनुसन्धानमा ढिलाइ गर्दा यस विषयमा विवाद आएको हो । प्रदेश सांसद शर्माको घरबाट घरेलु कामदारका रूपमा राखिएकी १४ वर्षीया बालिकाको गत १४ जेठमा महानगरपालिकाले उद्धार गरेको थियो । बालिकालाई यातना दिइएको प्रारम्भिक छानबिनमा खुलेपछि महानगरपालिकाले नै जिल्ला प्रहरी परिसर, काठमाडौैंमा जाहेरी दिएको थियो । तीन महिना हुन लाग्दा पनि प्रहरीले अनुसन्धानमा चासो नराखेपछि प्रधानमन्त्रीकै दबाबमा पक्राउ नगरिएको आरोप लगाएका छन् । प्रहरीविरुद्ध सांसद शर्माले उच्च अदालतमा रिट दायर गरेकोमा दाबी नपुग्ने फैसला गरेपछि पनि प्रहरीले अनुसन्धान नगरेको महानगरको दाबी छ । 

सुझावित समाचार