ओलम्पिक पदक विजेता पलेसा आज नेपाल आइपुग्दै

नगर परिक्रमासहित भव्य स्वागतको तयारी

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण
ओलम्पिक पदक विजेता पलेसा आज नेपाल आइपुग्दै

पेरिसको पारा ओलम्पिकमा सहभागी नेपाली टोली स्वदेश फर्कने तयारीमा

पारा ओलम्पिक टोलीलाई बुधबार त्रिभुवन विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणसम्म नगरपरिक्रमा गराउने राखेपको कार्यक्रम 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्धनलाई बुधबार नगर परिक्रमा गराउँदै छ । पेरिस पारा ओलम्पिकमा तेक्वान्दोअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजी तौल समूहमा कांस्य जितेकी पलेसाले बुधबार बिहान आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछिन् । कीर्तिमानी खेलाडीको नगर परिक्रमा राखेपले आफ्नो सबै कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । 

राखेपका अनुसार त्रिभुवन विमानस्थलमा पलेसा ओर्लेपछि खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले स्वागत गर्नेछन् । विमानस्थलको भिभिआइपी कक्षमा उनको भव्य स्वागतपछि राखेपले नेपाली पारा ओलम्पिक टोलीको नगर परिक्रमा गराइने राखेपका सूचना अधिकृत खुशराज दाहालले नयाँ पत्रिकालाई बताएका छन् । 

पारा ओलम्पिक टोलीलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्याइनेछ । राखेपले नगर परिक्रममा सुरक्षा निकायलाई समेत जानकारी दिएको दाहालले बताए । ‘राखेपले पलेसाको नगर परिक्रमामा सुरक्षा निकायलाई सुरक्षा प्रदान गर्न आग्रह गरेको छ,’ उनले भने । दाहालका अनुसार विमानस्थलमा पलेसाले मिडियालाई कुनै अन्तर्वार्ता दिनेछैनन् । 

राखेपले आफ्नै प्रांगणमा पलेसाको सम्मानपछि मिडियासँग कुराकानी गर्ने दाहालले बताए । ‘त्रिभुवन विमानस्थलमा धेरै भिड हुने भएकाले हामीले मिडियासँगको अन्तर्वार्ता राखेपको प्रांगणमै राखेका हौँ,’ उनले भने । सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा गत शुक्रबार रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै इतिहास रचेकी थिइन् । रिपेचेजको पहिलो खेलमा उनले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । रिपेचेजअघि पहिलो चरणमा पलेसाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एकपक्षीय खेलमा ३१–० ले हराइन् । त्यसपछि क्वार्टरफाइनलमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग उनी ८–१० ले पछि परिन् ।

See More On

सुझावित समाचार