समाजले कसरी व्यस्तता र लामो कार्यावधिलाई महत्व दिन्छ भन्ने विषयमा सांस्कृतिक भिन्नताले महत्वपूर्ण प्रभाव पार्छ
आफ्नाे कठोर कार्यतालिकाका लागि परिचित जिम्मी कार्टर र बाराक ओबामाजस्ता व्यक्तित्व राति ढिलोसम्म काम गर्थे । यता बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कियर स्टार्मरले शुक्रबार बेलुका ६ बजेपछि काम नगर्ने घोषणा गरेका छन् । त्यसैगरी युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले जुनमा पुनः निर्वाचित भएपछि केही साता बिदा लिइन् । यी दुई पक्षमा तपाईं कसलाई बढी महत्व दिनुहुन्छ ? अमेरिकामा भने निरन्तर व्यस्तता र फुर्सदको समय अभावको जीवनशैली बाँचेका अमेरिकी पूर्व–राष्ट्रपतिद्वय नै प्राथमिकतामा पर्छन् । र, अधिक व्यस्तता अमेरिकामा उच्च सामाजिक हैसियतको प्रतीक मानिन्छ ।
इतिहासलाई हेर्ने हो भने लामो समय काम गर्नु प्रशंसाको विषय हुन्थेन । प्राचीन ग्रिसमा स्वतन्त्र पुरुषले श्रमलाई तिरष्कार गर्थे र श्रमको जिम्मेवारी दासमा हुन्थ्यो । प्राचीन रोममा कुलीन भनेर चिनिने प्याट्रिसियनले काम नगर्न सक्ने भएकाले ओटियम अर्थात् फुर्सद र कामबाट हुने स्वतन्त्रतालाई रुचाउँथे । १९औँ शताब्दीमा अमेरिकी अर्थशास्त्री र समाजशास्त्री थोरस्टेन भेब्लेनले ‘श्रमबाट हुने स्पष्ट परित्यागलाई उच्च आर्थिक उपलब्धिको परम्परागत संकेत बन्ने गरेको’ पाएका थिए र श्रमलाई गरिबी एवं अधीनताको संकेतका रूपमा हेरिएको थियो । श्रम गर्नु सम्मानजनक सामाजिक स्थितिसँग असंगत हुने गर्थ्यो । यो मनोवृत्ति चर्चित ऐतिहासिक सिरिज डाउनटन एबेमा व्यंग्यात्मक ढंगले कैद गरिएको छ । सिरिजमा काउन्टेस भायोलेट क्राउलीले २०औँ शताब्दीको प्रारम्भिक बेलायतको कुलीन मानसिकतालाई प्रतिबिम्बित गर्दै विस्मयसाथ ‘सप्ताहान्त बिदा के हो ?’ भनेर प्रश्न गरेकी थिइन् । यसले काम र विश्रामको दिनमा बाँडिएको जीवनसँग उनको अनभिज्ञतालाई संकेत गर्थ्यो ।
विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्क गर्वसाथ आफूलाई एक ‘वर्काहोलिक’ (काम गर्ने लत भएको)का रूपमा चिनाउँछन्, जहाँ उनी आफूले हरेक साता प्रायः ८० देखि सय घण्टा काम गर्ने दाबी गर्छन् । धेरै सेलिब्रेटी प्रायः आफ्नो व्यस्त कार्यतालिकालाई लिएर सामाजिक सञ्जालमा फुर्ती लगाउँछन्। गैरनाफामुखी नेसनल ब्युरो अफ इकोनोमिक रिसर्चको एक अध्ययनले पनि अमेरिकामा कार्यावधिमा भारी गिरावट सन् १९७० को दशकसम्म रहेको त्यसपछि कार्यावधि समय विशेषतः उच्च शिक्षा र आय भएका पुरुषमाझ बढेको देखाएको छ । हालैको अमेरिकी जनगणना ब्युरोको तथ्यांकले पनि सबैभन्दा बढी कमाउने तप्काले सबैभन्दा बढी कार्यावधिसम्म काम गर्ने देखाएको थियो ।
यो परिवर्तन धेरै हदसम्म ज्ञान–सञ्चालित अर्थतन्त्रको उदयका कारण भएको हो, जहाँ मानव पुँजीको मूल्य उच्च हुन्छ । श्रमिकले शिक्षा र सीपमा लगानी गर्दै उनीहरू आफ्नो विशेषज्ञतालाई सबैभन्दा मूल्यवान् सम्पत्तिका रूपमा हेर्छन्, जबकि कम्पनी र भर्तीकर्ताले शीर्ष प्रतिभालाई आकर्षित गर्न र कायम राख्न प्रतिस्पर्धा गर्छन् । यसले एक संस्कृति सिर्जना गरेको छ, जहाँ व्यक्तिगत महत्व प्रदर्शनका लागि गरिने लामो कार्यावधि सामाजिक हैसियतको प्रतीक बनेको छ । विगतको कृषि र निर्माण अर्थतन्त्रमा कडा परिश्रमलाई सद्गुणका रूपमा हेरिएको थियो । तर, यी अर्थतन्त्रले परिश्रमलाई उच्च मागका रूपमा हेर्दैनथ्यो ।
आलेखको सुरुवातमा राजनीतिज्ञको जीवनशैलीको उदाहरण हेर्दा पहिलो समूह अमेरिकी र दोस्रो युरोपेली हुनु कुनै संयोग होइन । समाजले कसरी व्यस्तता र लामो कार्यावधिलाई महत्व दिन्छ भन्ने विषयमा सांस्कृतिक भिन्नताले महत्वपूर्ण प्रभाव पार्छ । उत्पादकत्वमा जोड, सामाजिक गतिशीलतामा विश्वास र कडा परिश्रमले सफलता निम्त्याउँछ र प्रतिष्ठा बढाउँछ भन्ने विचार लामो कार्यावधिको प्रशंसासँग जोडिएको छ । मेरो अनुसन्धानले यी मनोवृत्ति सामान्यतया महाद्वीपीय युरोपभन्दा अमेरिकी समाजमा बढी प्रचलित छन् भन्ने देखाउँछ ।
चाखलाग्दो के छ भने धेरै मानिसले व्यस्त जीवनशैलीलाई वाञ्छनीय र उच्च सामाजिक हैसियतको प्रतीकका रूपमा हेर्छन्, जबकि उच्च कार्यावधि व्यक्तिगत खुसी, आनन्द र स्वास्थ्यअनुकूल होइन भन्ने तथ्य स्पष्ट छन् । यसबाहेक उच्च कार्यावधि समयले सधैँ उत्पादकत्व बढाउँदैन ।
यद्यपि अहिले जीवनको गति तीव्र भएकाले अन्ततः हामीलाई सामाजिक हैसियतको प्रतीकको रूपमा फुर्सद र सुस्त जीवनशैलीलाई मूल्यवान् बनाउन सक्ने तर्क गर्छन् । हालै थुप्रै पेसेवर विशेषतः युवा महामारीअगाडिको वर्काहोलिक मापदण्डविरुद्ध गइरहेका छन् । सुस्त कामको वातावरण खोज्दै छोटो र थप लचिलो कार्यावधिको माग गर्दै फुर्सदलाई प्राथमिकता दिइरहेका छन् । ‘महान् राजीनामा’ (ग्रेट रेजिग्नेसन) र ‘फुर्सद पुनर्जागरण’ (लिजर रेनेसा) जस्ता अभियानले यो परिवर्तनलाई प्रतिबिम्बित गर्छन् । जेन जी (सन् २०००यता जन्मेका पुस्ता)ले गर्वसाथ आफ्नो पेसागत बढुवाको खुसी मनाउनुको सट्टा सामाजिक सञ्जालमा आफूले जागिर छाडेको कथा साझा गरिरहेका छन् ।
के यसको अर्थ इतिहासमा झैँ फुर्सदिलो हुनुलाई पुनः अधिक महत्व दिइँदै हो ? यो आलेख मैले बिदा लिएर स्वेच्छापूर्वक लेख्दै गर्दा फुर्सदिलो हुनुको महत्व बढ्दै जानेमा म विश्वस्त छु । यद्यपि सकारात्मकता पर्याप्त छैन र फुर्सदिलो हुनुको महत्व बढ्दै जाने प्रवृत्ति कालान्तरमा कमजोर पनि हुन सक्छ । करिब एक शताब्दीअगाडि प्रभावशाली बेलायती अर्थशास्त्री जोन मेनार्ड केनेसले प्राविधिक प्रगतिका कारण सन् २०२८ सम्ममा साताको कार्यावधि १५ घण्टामा सीमित हुने अनुमान गरेका थिए । तर, यो अनुमान स्पष्ट रूपमा असफल हुने देखिन्छ । आर्टिफिसियल इन्टेलिजेन्सका कारण हाम्रो उत्पादकत्व र प्रभावकारिता बढ्दा जिन्दगीको आनन्द लिन समय मिल्न सक्छ, अथवा हाम्रो व्यस्त कार्यतालिका थप व्यस्त हुन सक्छ । मानवताका लागि म अघिल्लो सम्भावनामा सकारत्मक छु ।
(बेलेजा कोलम्बिया बिजिनेस स्कुलकी बिजिनेस इन मार्केटिङकी सहप्राध्यापक हुन्)
टाइम म्यागेजिनबाट