मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ । योसँगै मधेश युनाइटेडले इडब्लुभिएलका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालकाे कभर्डहलमा प्रतियोगिता हुँदै छ। २८ वर्षीय भारतीय सेटर जिनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तानसमेत हुन् । तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ ।
केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन् । जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छिन् ।
जिनीले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरूसमेत खेलिसकेकीले उनको अनुभव काम लाग्ने विश्वास छ । जिनीले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छिन् ।
जिनीको अनुबन्धपछि मधेश युनाइटेडमा खेलाडी संख्या ११ पुगेको छ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म आठ नेपाली र तीन विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।
मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि मधेशको टिममा छन् । यस्तै काभा यू–२० महिला च्याम्पियनसिप खेले यू–२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पूजा थारू र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।