सन् २०२४ को जनवरीदेखि अगस्टसम्म आठ महिनामा सात लाख २० हजार तीन सय ३४ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा आठ महिनाको अवधिमा ६ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।
पछिल्लो महिना अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यो संख्या अगस्ट २०२३ को तुलनामा ८.२९ प्रतिशतले वृद्धि हो भने कोभिड महामारी फैलिनुअघि अगस्ट २०१९ को तुलनामा २३.२५ प्रतिशतले कम हो । अगस्ट २०१९ मा ९४ हजार सात सय ४९ पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ । पछिल्लो समय भएका हवाई र सडक दुर्घटनाहरूको प्रभाव भारतीय र पश्चिममा पर्यटक आगमनमा देखिएको छ । हवाई र सडक सुरक्षा कमजोरीले अमेरिकन र युरोपियन पर्यटक आगमन प्रभावित भएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।
अगस्टमा अमेरिकन र युरोपियन पर्यटक घटेका छन् । कोभिडयता धेरै पर्यटक भित्रिने दोस्रो देशमा प्रायः अमेरिका रहँदै आएकोमा अगस्टमा तेस्रो स्थानमा परेको छ । चिनियाँ पर्यटक बढेर नभई अमेरिकन पर्यटक आगमन खस्किएका कारण अमेरिका तेस्रो स्थानमा झरेको हो । धेरै पर्यटक भित्रिनेमा चीन दोस्रो बनेको छ ।
अगस्टमा सबैभन्दा धेरै पर्यटक भित्रिने प्रमुख १० देशमा भारत पहिलो स्थानमै रहेको छ । एक महिनामा भारतबाट २५ हजार आठ सय २३ पर्यटक भित्रिएका छन् भने चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट पाँच हजार ६ सय १४, श्रीलंकाबाट चार हजार आठ सय ५१, बंगलादेशबाट तीन हजार ७७, युकेबाट दुई हजार सात सय ६४, जापानबाट एक हजार आठ सय ८१, अस्ट्रेलियाबाट एक हजार सात सय ३६, इटालीबाट एक हजार ६ सय १५, साउथ कोरियाबाट एक हजार ६ सय दुई पर्यटक घुम्न आएका छन् ।
