न्युयोर्क/ अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको ३० वर्षमुनिका युवातर्फको उपाधि सांग्रिला फुटबल क्लबले हात पारेको छ। उक्त क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप जितेको छ।
यसैगरी, ४० वर्षमुनिका सिनियर युथ समूहबाट एफसी रिभाइभल, ४० वर्षमाथिका भेट्रान्सतर्फ कोलम्बस भेट्रान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन्। उनीहरूले क्रमशः १० हजार, १० हजार र ८ हजार अमेरिकी डलर प्राप्त गरेका छन्। उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली समुदायका खेलाडीहरूका लागि मात्र यी खेल आयोजना गरिएको थियो।
अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा १ सेप्टेम्बर (आइतबार) मा सम्पन्न यी खेलका विजयी टिमलाई इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गरेका थिए। यी खेलहरूमा उपविजेता हुने टिमले क्रमशः १० हजार, आठ हजार र पाँच हजार डलर प्राप्त गरेका छन्। युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्स, भेट्रान्सतर्फ न्युयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए। सुनको रनिङ कपका लागि भने लगातार तीनपल्ट खेल जित्नुपर्ने नियम छ। उपविजेताहरूलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलसहितले पुरस्कार हस्तान्तरण गरेका थिए।
अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायका दर्शकहरूको समेत ठुलो उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएको आयोजनास्थलका संयोजक चन्द्र पराजुलीले जानकारी दिए। जसमा ३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंङ गाइज इलेभेन, सांग्रिला युथ एफसी, एभरेस्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी थिए। ४० वर्षमुनिको सिनियर युथतर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्स ह्यारिसवर्ग भेट्रान्स, हिमालयन हक्स, सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइबल, थ्री रिभर्स भेट्रान्स, मिसिगन युथ एफसी, नेक्ट जेनजी एफसी र केन्टकी भेट्रान्स थिए। त्यसैगरी, ४० वर्षमाथिकाे भेट्रान्स समूहतर्फ कोलम्बस भेट्रान्स, एनवाई इन्टा एफसी, पिटसवर्ग भेट्रान्स, सागिना भेट्रान्स, एफसी रिभाइबल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेट्रान्स एफसीको प्रतिस्पर्धा भएको थियो। महिलातर्फ पिसजोन एकेडेमी गर्ल्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिङ स्टार र योद्धा एफसीबिच प्रतिस्पर्धा भएको थियो।
फाउन्डेसनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूल एवं नेपाली जातिका खेलाडीका लागि हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।