वीरगन्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

जिप र कारको आयातमा ४० प्रतिशतले कमी

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट मोटरसाइकल आयातमा उलेख्य वृद्धि भएको छ। सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ।

गत आर्थिक वर्ष ०८०/८१ को साउनको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ। सो अवधिमा मोटरसाइकलको आयात शतप्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको साउनमा वीरगन्ज नाकाबाट रु. ४६ करोड ७७ लाखका तीन हजार ५७१ थान मोटरसाइकल आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। चालू आवको साउनमा भने रु. ९४ करोड ४८ लाखका सात हजार १५० थान मोटरसाइकल आयात भएको छ।

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन महिनामा रु. २० करोड ६० लाखका १२७ थान जिप र कार आयात भएका थिए भने चालू आवको सोही अवधिमा रु. १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ।

भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याई नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्बल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए।

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट रु. ४४ करोड २१ लाख राजस्व संकलन भएको थियो। चालू आवको सोही अवधिमा भने रु. ८८ करोड ६४ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ। रासस

सुझावित समाचार