ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको ज्यान गयो

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

हेटौँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– ९ का २५ वर्षीय अभिषेक सुवेदी रहेका छन्।

सोमबार बिहान हेटौँडाबाट मनहरीतर्फ जाँदै गर्दा सुवेदीले चलाएको  बा. प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा. प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले ठक्कर दिएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार नवलपरासीबाट झापाका लागि सिमेन्ट लोड गरी गुडेको उक्त ट्रकले सुवेदी सवार मोटरसाइकललाई  हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीस्थित कोसिस पेट्रोल पम्पनजिक पूर्व–पश्चिम सडकखण्डमा ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका सुवेदीलाई उपचारका लागि  हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

ट्रकचालक दाङको गडुवा गाउँपालिका– २ का २३ वर्षीय चन्द्रप्रसाद चौधरी र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले बताए।

सुझावित समाचार