करिब ६ महिनाअघि बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको सत्तामा पकड देखिन्थ्यो । उनी चौथो कार्यकालमा ‘निर्विरोध चुनाव’मा विजयी भएकी थिइन् । चुनावमा देशका संस्थामा कडा नियन्त्रण गरिएको थियो र विपक्षीमाथि व्यापक दमन एवं धरपकड भएको थियो ।
बढ्दो अधिनायकवाद र आलोचकमाथिको दमनबीच सत्तानिकटलाई अवसर दिने विवादास्पद आरक्षण प्रणालीविरूद्ध विद्यार्थीको नेतृत्वमा भएको विरोधको अचानक विस्फोटले उनको शासनको कमजोरीलाई उजागर गर्यो । चार सयभन्दा बढीको ज्यान जाने गरी भएको हिंसात्मक दमनपछि हसिना राजीनामा दिएर निर्वासनमा जान बाध्य भइन् । बंगलादेशको घटनाले सन् २०२२ मा श्रीलंकामा राजपाक्षे परिवारको शासन समाप्त गर्ने ‘अरगलय’ जनविरोधको झल्को दिएको थियो ।
यो वर्ष एसिया र अफ्रिकामा आन्दोलनको लहरमा सामेल हुँदै बंगलादेश नवयुवा नेतृत्वको विद्रोहको अनुभव गर्ने सबैभन्दा पछिल्लो राष्ट्र बन्यो । फेब्रुअरीमा पाकिस्तानका युवा मतदाताले जेलमा थुनिएका पूर्वप्रधानमन्त्री इमरान खानलाई समर्थन गरेर आश्चर्यजनक नतिजा दिए । सेनाको विरोधका बाबजुद उनका सहयोगीले संसद्मा सबैभन्दा धेरै मत र सिट प्राप्त गरे । लगत्तै अर्को महिना सेनेगलका युवा मतदाताले चुनावमा आफ्नो लोकतन्त्र फिर्ता लिए, जुन जनताको पकडबाट झन्डै चिप्लिएको थियो । अपेक्षाकृत रूपमा कम चिनिएका कर निरीक्षक बासिरो दिओमाए फाए केही सातामै कैदबाट राष्ट्रपतिमा चुनिए ।
नवयुवाका आन्दोलनले जातीय र राजनीतिक विभाजनको सीमा पार गर्दै परम्परागत राजनीतिलाई चुनौती दिइरहेका छन्
केन्यामा विद्रोहको लहर जुन महिनामा फैलियो, जहाँ प्रदर्शनकारी, प्रायः ‘जेनरेसन जेड’ (सन् २००० यता जन्मेका नवयुवा) राष्ट्रपति विलियम रुटोको अत्यावश्यक वस्तुमा नयाँ कर लगाउने विधेयक प्रस्तावविरुद्ध आफ्नो रोष व्यक्त गर्न सडकमा उर्लिए । बंगलादेशमा झैँ त्यहाँका अधिकारीले घातक बल प्रयोग गरेर प्रतिक्रिया दिए, नतिजा दर्जनौँले ज्यान गुमाए र सयौँ घाइते भए । तर, रुटो अन्ततः विधेयक फिर्ता लिन बाध्य भए । अहिले विश्वको चासो नाइजेरियातर्फ सरेको छ, जहाँ बढ्दो जीविका लागतलाई लिएर विरोध भड्किएको छ ।
एसिया र अफ्रिकाका केही हिस्सामा नयाँ पुस्ताले आफ्नो प्रभावलाई बढ्दो रूपमा दाबी गर्दै आएका छन् किनभने यी नवयुवाले सहज रूपमा विरोध आन्दोलनको आयोजना गर्छन् र दुर्लभ गठबन्धन निर्माण गर्छन् । इन्टरनेटको प्रयोगसँगै हुर्किएको यो पुस्ताले सामाजिक सञ्जालको प्रयोग विरोध घोषणा गर्न र लाइभ स्ट्रिम गर्न मात्र नभई संगठन निर्माण र बहस गर्न पनि गरिरहेका छन् । यी नवयुवाले एआई प्रयोगसहित नवीन रणनीति विकास गरिरहेका छन् र सडक अवरुद्ध हुँदा डिजिटल प्रदर्शनसमेत आयोजना गरिरहेका छन् । प्रतिक्रियास्वरूप सरकारहरूले इन्टरनेटलाई सुस्त पार्नेदेखि यसलाई पूर्ण रूपमा बन्द गर्नेसम्मको प्रविधि–दमनको प्रयोग गरिरहेका छन् ।
यी आन्दोलनले जातीय र राजनीतिक विभाजनको सीमा पार गर्दै प्रायः परम्परागत दल र नागरिक–समाज संगठनलाई बेवास्ता गरेर परम्परागत राजनीतिलाई चुनौती दिइरहेका छन् । उसो त लोकप्रियतावाद र अधिनायकवादलाई सामान्यतया पूरकका रूपमा हेरिन्छ, तर यो पुस्ताले अधिनायकवादको सामना गर्न लोकप्रियतावादी अभिव्यक्तिको प्रयोग गरिरहेको छ । राज्यको हिंसाको सामना गर्दै यो पुस्ताले निडरता र दृढता प्रदर्शन गर्दै आफ्नो संकल्पलाई बलियो बनाइरहेको छ ।
यो ‘युथक्वेक’ (नवयुवाको लहर)लाई बढाइचढाइ गर्न वा दुई विशाल महाद्वीपमा सामान्यीकरण गर्नबाट भने बच्नुपर्छ । जेनरेसन–जेड प्रदर्शनकारीमा विविधता छ र राजनीतिक रूपमा विभाजित छन् जहाँ भिन्न–भिन्न महत्वाकांक्षा पनि छन् । उदाहरणका लागि बंगलादेशमा सत्तारूढ दलको युवा शाखा छात्र लिगले हिंसामा योगदान पुर्याएको थियो । बलियो संस्थाका कारण सेनेगलको राजनीतिक संक्रमण भने अपेक्षाकृत सहज थियो । तर, बंगलादेशले हिंसा र नागरिक अशान्तिको निरन्तर खतराको अनिश्चित भविष्यको सामना गरिरहेको छ । अवामी लिगका सदस्य र हिन्दू अल्पसंख्यकमाथि गरिएका आक्रमणले विजयले कहिलेकाहीँ प्रतिशोधात्मक गतिविधि निम्त्याउन सक्छ भन्ने देखाउँछ ।
यी भिन्नताका बाबजुद केही उल्लेखनीय समानता पनि छन् । उल्लेख गरिएका प्रत्येक देशमा १५ देखि ३४ वर्षका व्यक्तिले जनसंख्याको कम्तीमा एकतिहाइ हिस्सा ओगटेका छन् । बंगलादेशले ६ प्रतिशत आर्थिक वृद्धिको अनुभव गरे पनि १५ प्रतिशत युवा बेरोजगारी सामना गरिरहेका छन् । यीमध्ये धेरै राष्ट्र ठुलो ऋणको बोझले दबिएका छन् र यिनले ऋणदातालाई व्यवस्थापन गर्न सरकारी खर्चको २० देखि ६० प्रतिशत छुट्याउँछन् अर्थात् शिक्षा, स्वास्थ्य सेवा र जलवायु पहलकदमीमा हुने आवश्यकताभन्दा न्यून खर्च गर्नुपर्ने अवस्था छ । यी विरोध विश्वका सबैभन्दा जलवायु–संवेदनशील क्षेत्रमा भइरहेको तथ्य पनि कुनै अचम्मको विषय होइन ।
केन्यामा प्रतिगामी कर, बंगलादेशमा अनुचित रोजगार विनियोजन, वा नाइजेरियामा बढ्दो जीविका लागतजस्ता युवामाथि थप बोझ थोपर्ने नीति सतहमा आउँदा विरोध प्रायः भड्केका छन् । तत्कालीन नीति वा घटनाले विरोध निम्त्याए पनि यसले लामो समयदेखिको जनगुनासो र निराशालाई अभिव्यक्त गर्छ । युवा आर्थिक सम्भावना मात्र नभई शासकको लोभ, राज्यको क्रूरता र सामान्य अनुत्तरदायीपनबाट पनि निराश छन् । युवा पुरानो प्रणाली भत्काउन र आफ्नो राजनीतिक संरचनाको पुनः कल्पना गर्न उत्सुक छन् ।
तर, यो परिवर्तन सोचेजति सजिलो छैन र परिवर्तन हुन्छ भन्ने कुनै निश्चितता पनि छैन । एक दशकअघि तानाशाहलाई पराजित गर्दै र न्यायपूर्ण व्यवस्थाको आशा जगाउँदै युवा विद्रोह अरब विश्वमा फैलिएको थियो । तर, आशातीत नतिजा आउन सकेन । यी असफलतालाई दोहरिनबाट रोक्नका लागि हालको समयले प्रस्तुत गरेका अवसरलाई द्रुत रूपमा पहिचान गर्न र प्रभावकारी रूपमा प्रयोग गर्नुपर्छ र सम्बन्धित जोखिमको सावधानीपूर्वक व्यवस्थापन गरिनुपर्छ ।
(नवरोजी ओपन सोसाइटी फाउन्डेसनकी अध्यक्ष हुन्) प्रोजेक्ट सिन्डिकेटबाट