प्रदेशमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउनैपर्ने हो ?
प्रदेशमा हामी सरकार हौँ, हामी स्वायत्त छौँ भन्ने ‘फिल’ नै भएन । जुनसुकै दल र गठबन्धनको सरकार बने पनि सबैमा कसरी टिक्ने भन्नेमै केन्द्रित हुनुपर्ने अवस्था छ । माथि संघमा ‘हाच्छिउँ’ आयो भने तल प्रदेशमा ‘निमोनिया’ लाग्ने अवस्था देखिन्छ । प्रदेशको नेतृत्वले प्रदेशको सरकार गठन मेरो अधिकार हो भन्न सकेको देखिन्न । हामी माथिका आदेशपालक मात्र हौँ भन्ने सोचबाट प्रदेश नेतृत्व ‘गाइडेड’ छउन्जेल भागबन्डा मिलाउनैपर्छ । सबैले भनेअनुसार भाग दिऊँ भन्ने सोच रहुन्जेल यो अवस्था अन्त्य हुन कठिन छ ।
यसले संघीयताप्रति नै वितृष्णा बढाउँदैन ?
स्थानीय र संघभन्दा पनि प्रदेश सरकार प्रभावकारी बनाउनुपर्छ र बनाउन सकिन्छ पनि । जनताको प्रत्यक्ष सरकार नै यही प्रदेश सरकार बन्न सक्छ । प्रदेशमा सक्षम नेतृत्व आएको अवस्थामा प्रदेश सरकारलाई प्रभावकारी बनाउन सक्छ । आदेशपालक आएको अवस्थामा भने यसै हुन्छ भन्न सकिन्न । यथार्थमा प्रदेशको विकास प्रदेशलाई नै थाहा हुन्छ । अहिले प्रदेश सरकारको ध्यान विकास निर्माणको दिशाबाट सरकार टिकाउनेतर्फ ‘डाइभर्ट’ भएको छ । यस्तो अवस्थामा आमजनमानसमा प्रदेशप्रति वितृष्णा बढ्न पनि सक्छ ।
प्रदेशमा भागबन्डा लगाउन मन्त्रालय फुटाउने राजनीति कसरी अन्त्य होला ?
म नेतृत्वमा हुँदा मैले कोसिस गरेको थिएँ । मैले नेताको सूची हेरेर होइन, प्रदेशको आवश्यकतालाई ध्यानमा राखेर सरकार बनाएको थिएँ । तर, अहिले नेताको सूची र निर्देशन पर्खेर बसेको अवस्था छ । संघसित समन्वय गर्नुपर्छ । तर, स्वायत्त निर्णय गर्न सक्ने हो भने प्रदेशमा सरकार टिकाउन मन्त्रालय फुटाउने अलोकप्रिय निर्णय गरिरहनुपर्दैन ।