मकवानपुरमा पछिल्लो २४ घण्टामा डेंगुका ३४ र स्क्रब टाइफसका ९ जना संक्रमित थपिएका छन्। योसँगै मकवानपुरमा गत साउन १ गतेदेखि अहिलेसम्म डेंगुबाट २०७ र स्क्रब टाइफसबाट ९९ सजना संक्रमित भएका छन्।
चालू आर्थिक वर्षको साउन १ देखि भदौ १६ गतेसम्म लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुका संक्रमितको संख्या २०७ र मुसामा पाइने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका संक्रमितको संख्या ९९ पुगेको जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
कार्यलयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मकवानपुरमा ३४ जना डेंगु र ९ जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। उनले अहिलेसम्म डेंगु संक्रमित हुनेमा ९७ जना पुरुष र ११० जना महिला रहेको र ३१ जना पुरुष र ६९ जना महिलालाई स्क्रब टाइफस संक्रमण भएको जानकारी दिए।
सूचना अधिकारी घिमिरेका अनुसार जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी डेंगु र स्क्रब टाइफसका संक्रमित हेटौँडा उपमहानगरपालिकाभित्र रहेका छन्। यहाँ सबैभन्दा बढी डेंगुका १५४ जना र स्क्रब टाइफसका ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, हेटौँडा उपमहानगरपालिकापछि मनहरीमा डेंगुका १९, मकवानपुरगढीमा १५, बकैयामा ८, भीमफेदीमा ४, कैलाशमा २, बागमतीमा १, अन्य जिल्लाबाट आएका ३ र ठेगाना नखुलेका अर्का १ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।
यस्तै स्क्रब टाइफसका संक्रमितहरू मकवानुरगढीमा १३, मनहरी र बकैयामा १०-१०, भीमफेदीमा ५, बागमती, राक्सिराङ, कैलाश र इन्द्रसरोवर गाउँपालिकामा १-१ जना र अन्य जिल्लाबाट आएका १ जना रहेका छन् ।
जिल्लाको थाहा नगरपालिकामा भने अहिलेसम्म डेंगु र स्क्रब टाइफसका संक्रमित फेला नपरेको सूचना अधिकारी घिमिरेले बताए। यसैगरी, चालू आवमा डेंगु संक्रमणबाट कसैको पनि मृत्यु नभएको पनि उनले जानकारी दिए।
गत आवमा भने जिल्लामा ४५५ पुरुष र ४३६ महिला गरी ८९१ जनामा डेंगु संक्रमण पुष्टि हुँदा एकजना पुरुषको मृत्यु भएको थियो।