क्यान्सर अस्पतालको झ्यालबाट खसेकी महिलाको मृत्यु

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाको झ्यालबाट खसेर घाइते भएकी महिलाको मृत्यु भएको छ। शनिबार बिहान ४ बजेतिर पोस्ट अपरेटिभ वार्डको झ्यालबाट खस्दा गम्भीर घाइते भएकी महिलाको आइतबार मृत्यु भएको हो। 

थाइराइड मो क्यान्सरको उपचाररत काठमाडौं जोरपाटीकी ६४ वर्षीया पुनमाया तामाङ अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाबाट खसेकी थिइन्। उनका आफन्तका अनुसार झ्यालबाट खस्दा भवनपछाडि बनाइएको टिनको छानोमा बजारिएकी थिइन्। अपरेसनपश्चात् पोस्ट अपरेटिभ वार्डमा घाँटीमा पाइप राखिएकै अवस्थामा उनी झ्यालबाट खसेकी थिइन्। उनको खुट्टा र हात भाँच्चिएको र टाउकोमा गम्भीर चोट लागेको थियो। 

वार्डमा राखिएको बेडछेउमा ग्रिल नभएको ठुलो झ्यालनिर उभिँदा रिगंटा लागेर खसेको हुन सक्ने आफन्तहरूले भनाइ छ। साथै, बिरामी राखिने वार्डहरू सुरक्षित नभएका कारण खसेको हुन सक्ने मृतकका भाइ श्री लामाले बताए। ‘लगत्तै अपरेसन गरिएको बिरामीलाई खुला झ्यालनिर राखिएको थियो। झ्यालबाहिर हेर्न खोज्दा खसेको हुन सक्छ। वार्डहरू सुरक्षित नहुँदा घटना भएको हो। घटनापछि अस्पतालका सबै झ्यालहरूमा ग्रिल राखेर सुरक्षित बनाउनुपर्ने सहमति भएको छ,’ श्री लामाले भने। अस्पताल सुरक्षित नभएको पाइएकोले मृतक पुनमाया तामाङको स्मृतिमा अस्पतालका सबै झ्यालमा ग्रिल राख्न र बिरामी लडेर  दुर्घटना हुन सक्ने स्थान सुरक्षित बनाउनुपर्ने अस्पतालसँग सहमति गरेको उनले बताए । 

झ्यालमा ग्रिन नहुँदा नै घटना भएको अस्पताल प्रशासनले पनि स्विकारेको छ। घटनापश्चात् उनीहरूको मागअनुसार तीन महिनाभित्र सुरक्षाका सबै उपाय अपनाइने अस्पतालका कर्मचारी देवानन्द चौधरीले बताए। घटनापश्चात् उपचार खर्च मिनाहा गर्न अस्पताल तयार रहे पनि मृतकका आफन्तले अस्वीकार गरेको उनले बताए। तामाङको शव आइतबार दिउँसो नै आफन्तले बुझेका छन्। उनको २४ साउनदेखि अस्पतालमा उपचार भइरहेको थियो। 
 

सुझावित समाचार