प्रकाश दाहाल स्मृति प्रतिष्ठानले कञ्चनपुरको ग्रामीण भेगका विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोसाक (टिसर्ट) वितरण गरेको छ। आइतबार प्रतिष्ठानले लालझाडी गाउँपालिकाका विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो।
नेकपा माओवादी केन्द्रका युवा विद्यार्थी नेता स्व. प्रकाश दाहालको स्मृतिमा विपन्न समुदायका विद्यार्थीलाई पोसाक वितरण गरिएको हो। नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्वखानेपानीमन्त्री विना मगरको प्रमुख आतिथ्यमा प्रतिष्ठानले लालझाडी–४ जाईस्थित स्वतन्त्र माविका विद्यार्थीलाई युनिफर्म वितरण गरेको लालझाडी गाउँपालिकाका निवर्तमान प्रमुख मदन सेन बडायकले जानकारी दिए।
टिसर्ट वितरण गर्दै पूर्वमन्त्री एवं स्व. प्रकाश दाहालकी पत्नी मगरले प्रकाश दाहाल स्मृति प्रतिष्ठानले यस्तै ग्रामीण भेगका विपन्न समुदायका विद्यार्थीको सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको बताइन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज रानाले विपन्न समुदायका विद्यार्थीका लागि प्रतिष्ठानले गरेको सहयोगले विद्यार्थीलाई टेवा पुग्ने बताए।