दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुरु गर्न आग्रह

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् । शनिबार प्रचण्डले सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमन गरेका हुन् । 

मंसिरमा तय गरिएको राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेका वेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताएका हुन् । ‘दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ । यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्,’ उनले भने, ‘यसमा पनि राजनीति गरेर दशौँ राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।’ 

उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेलक्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरे । ‘अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुन रूपमा निर्माण करिब–करिब सम्पन्न हुने चरणमा गएको छ । यो हामी सबैका लागि खुसी र गौरवको कुरा हो,’ उनले भने ।

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेलक्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी गरे । उनले आफू तीनपटक प्रधानमन्त्री हुँदा लगातार खेलक्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको बताए । 

अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वखेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याललगायतका खेल पदाधिकारीको उपस्थिति रहेको थियो ।

२४ खेल मात्रै कर्णालीमा हुने
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सञ्ज्यालले आवासका कारण कर्णाली प्रदेशको पाँच जिल्लामा ३६ मध्ये २२ देखि २४ खेल मात्र गर्न सकिने बताएका छन् । महिला फुटबल, उसु, पुरुष र महिला बास्केटबल, जुडो, पुरुष र महिला हक्कीसँगै तेक्वान्दोका इभेन्ट दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन अघि नै हुनेछन् ।

सुटिङ र गल्फ कहाँ गर्ने अझै निर्णय भएको छैन । राखेपले प्रतियोगिता सञ्चालनका लागि निर्णायक संख्या एक हजार चार सय ९९ प्रस्ताव गरिसकेको छ । 

See More On

सुझावित समाचार