अमेरिकामा सुरु भयो इन्ट्रा कप फुटबल, १४ सय खेलाडी सहभागी

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा अवस्थित कोप्ले सकर कम्प्लेक्समा अमेरिकाभरिका नेपालीमूल, नेपाली जातिका युवायुवतीहरूका बिच इन्ट्रा कप-२०२४ फुटबल प्रतियोगिता अगस्ट ३० तारिक शुक्रबारदेखि सुरु भएको छ। पुरुषतर्फ ३० वर्षमुनिका युवा, ३० देखि ३९ वर्षसम्मका युवा र ४० वर्षदेखि माथिका भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेलहरू तय गरिएका छन् भने महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिस्पर्धा हुनेछ। यसैगरी, १६ वर्षदेखि मुनिका किशोर-किशोरीका टिमबिच पनि प्रतिस्पर्धा हुनेछ।

पिसजोन क्लबसमेतको सहकार्यमा इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेका यी खेलहरूमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ वटा टिम दर्ता भएका छन्। किशोर-किशोरीतर्फ २९ वटा टिम दर्ता भएका छन्।

सबै उमेरसमूह र सबै टिमका गरी लगभग चौध सय खेलाडीहरू सहभागी भएको यो प्रतिस्पर्धाको उद्घाटन इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले खेलमैदानमा खेलाडीहरूलाई फुटबल पास हानेर गरेका थिए। उनले अमेरिका र क्यानडामा रहेको नेपाली भाषी समाजका खेलप्रेमीहरूलाई एकठाउँमा ल्याई आपसी भाइचारको अभिवृद्धिका साथै अनुशासित प्रतिस्पर्धात्मकताको विकास गर्ने उद्देश्यले यी खेलहरू आयोजना गरिएको बताए। अमेरिका, क्यानडाजस्ता देशहरूमा बसेर पनि आफ्नो नेपाली जातीय पहिचान र एकता कायम राख्दै अगाडि बढ्न प्रेरित गरोस् भन्ने पनि खेलको उद्देश्य रहेको उनले बताए।

आयोजनास्थलका संयोजक चन्द्र पराजुलीका अनुसार युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएका छन्। जसमा ३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाइज इलेभेन, सांग्रिला युथ एफसी, एभरेस्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन्।

४० वर्षमुनिको सिनियर युथतर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्स, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स,सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स छन्।

त्यसैगरी, ४० वर्षमाथिका भेट्रान्स समूहतर्फ कोलम्बस भेट्रान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेट्रान्स, सागिना भेट्रान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेट्रान्स एफसीको प्रतिस्पर्धा  छ। महिलातर्फ पिसजोन एकेडेमी गर्ल्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिंग स्टार र योद्धा एफसीबिच प्रतिस्पर्धा  हुँदै छ।

नेपाली मूलका नेपालीहरूको सर्वागींण विकासमा फाउन्डेसनले विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा बृहत् भलिबल प्रतियोगिताको आयोजना गरिएको पनि आयोजक संस्थाले बताएको छ।

सुझावित समाचार