बागमती प्रदेश सभाको संसदीय समितिबाट दुईवटा विधेयकको प्रतिवेदन पारित भएको छ।
शुक्रबार बसेको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको हो।
दुवै विधेयक लामो समयदेखि संसदीय समितिमा विचाराधीन थिए। शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले गत ०८० भदौ १२ गतेदेखि संसदीय समितिमा विचाराधीन रहेको कृषि विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि संशोधनसहित प्रतिवेदन पारित गरेको हो।
यस्तै, २०८० भदौ २४ मा संसदमा दर्ता भएको प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संशोधनसहित प्रतिवेदन पारित गरिएको हो।
समितिबाट पारित भएको विधेयकमा किसानलाई सूचीकरण गर्ने तथा किसानलाई वर्गीकरण गर्ने उल्लेख गरिएको छ। विधेयकको दफा ३ को उपदफा (२) मा प्रदेशभित्र रहेका किसानको सूचीकरण गरेर वर्गीकरण गर्ने व्यवस्था गरिएको छ।
यसैगरी, विधेयकले कषि क्षेत्रको आधुनिकीकरण, विविधीकरण, व्यावसायिकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न तथा रोजगारी सिर्जना र दिगो आर्थिक विकासमा टेवा पुर्याउन कृषि उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरण, प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपलगायतका विषयहरूका बारेमा व्यवस्था गरिएको छ।
विधेयकको दफा ९ को उपदफा (३) मा सूचीकृत भएका किसान व्यवसाय वा संस्थाद्वारा उत्पादित कृषि उपज बिक्री-वितरण हुन नसकेको खण्डमा प्रदेश सरकारले खरिद-बिक्रीलगायत बजारीकरणको लागि आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरिएको छ।
यसैगरी, विधेयकको दफा १४ को उपदफा (१) मा मन्त्रालय वा कार्यालयले कृषि उपजको उत्पादन, भण्डारण, प्रशोधन, बजारीकरण र निर्यात प्रवर्द्धनमा सहयोगको व्यवस्था गरेको छ भने विधेयकको दफा १६ मा रैथाने बालीको संरक्षण र प्रवर्द्धनको व्यवस्था गरिएको छ।
प्रदेशमा उत्पादन हुने रैथाने बालीको अभिलेखीकरण र सोको सूची तयार गरी रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने, रैथाने बालीको सूचीकरणका लागि प्रदेश सरकारले रैथाने बाली उत्पादन हुने र उत्पादनको सम्भावना भएका पकेट क्षेत्रको विकास गर्ने, रैथाने बाली उत्पादनमा संलग्न कृषकलाई विशेष अनुदान उपलब्ध गराउने तथा संरक्षणात्मक र प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने व्यवस्था विधेयकमा गरिएको छ।
प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट कृषिमा पुग्न जाने क्षतिबापत कृषकलाई उचित क्षतिपूर्ति प्रदान गर्ने, कृषि उपजहरूको गुणस्तर कायम तथा असल कृषि अभ्यासको प्रोत्साहन, विषादी अवशेष परीक्षण आदिको व्यवस्था गरिएको छ।
यसैगरी, प्रदेश सरकारले घरेलु तथा हस्तकला उद्योगहरूलाई एकीकृत विकास गरी उत्पादन र उतपादकत्व अभिवृद्धि गर्न प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको कानुनी व्यवस्था गर्ने सरकारको लक्ष्यअनुसार प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको लागि विधेयक अघि बढाएको छ।
उक्त विधेयकमा बागमती प्रदेशमा प्रदेश हस्तकला परिषद्को व्यवस्था गर्दै प्रदेशभित्र समग्र हस्तकलाग्राम वा क्षेत्रको विकास तथा प्रवर्द्धनसम्बन्धी विषयमा प्रदेश सरकारलाई नीतिगत तथा कार्यगत सुझाव तथा परामर्श दिने व्यवस्था गरिएको छ।
विधेयकमा स्थानीय तह, निजी क्षेत्र वा स्थानीय समुदायले हस्तकलाग्राम स्थापना गर्न सक्ने व्यवस्था गरिएको छ।