तेस्रो वरीयताका स्पेनिस कार्लोस अल्काराज र दुईपटककी च्याम्पियन जापानिज नाओमी ओसाका युएस ओपनको दोस्रो चरणमा वरीयताहीनसँग स्तब्ध
वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगितामा शुक्रबार पुरुष तथा महिलातर्फका उपाधि दाबेदार खेलाडी बाहिरिएका छन् । तेस्रो वरीयताका स्पेनिस खेलाडी कार्लोस अल्काराज र दुईपटककी च्याम्पियन जापानिज नाओमी ओसाकाले तेस्रो चरण रक्षा गर्न सकेनन् । यी दुई वरीयता पाएका खेलाडीको बहिर्गमनसँगै युएस ओपनमा सनसनी मच्चिएको छ । यस सिजनमा विम्बल्डन तथा फ्रेन्च ओपन जितेका कार्लोस नेदरल्यान्ड्सका ७४औँ स्थानमा रहेका बोटिक भान जान्ड्सचुपबाट सीधा सेटमा स्तब्ध भए ।
महिलामा ओसाका चेककी मुचाभासँग ६–३ र ७–६ ले हारिन् । अल्काराज क्यालेन्डर वर्षमा फ्रेन्च, विम्बल्डन तथा युएस ओपन जित्ने अभियानमा थिए । एकै वर्षमा यी तीन प्रमुख उपाधि जित्ने दुई खेलाडी मात्र छन् । रोड लाभेर राफेल नाडालले एकै सिजन तीन ग्रान्डस्लाम उपाधि जितेका थिए । यो सफलता प्राप्त गर्ने तेस्रो खेलाडीको दौडमा थिए अल्काराज । तर, वरीयताहीन खेलाडीसँग निराश प्रदर्शन गरेसँगै उनले कीर्तिमान बनाउन सकेनन् । हारसँगै उनको ग्रान्डस्लाम टेनिसमा लगातार १५ खेलको जित यात्रा समाप्त भएको छ ।
‘मैले जुन स्तरमा प्रतिस्पर्धा गरेको थिएँ । त्यो फ्रेन्च तथा विम्बल्डन जित्दाजस्तो थियो । आज बोटिक भानविरुद्ध केही पनि लागेन,’ हारपछि अल्काराजले भने, ‘बल प्रहार कडा नै थियो । कुनै पनि समयमा कमजोरजस्तो लाग्दैन,’ खेलको समीक्षा गर्दै उनले भने, ‘जब म उत्कृष्ट लयमा फर्कने प्रयास गरिरहेको हुन्छु । त्यसवेला म पछाडि पर्ने गर्छु ।’
२१ वर्षीय अल्काराजले डच खेलाडीविरुद्ध अनावश्यक २७ सट प्रहार गरेका थिए । यसको विपरीत बोटिक भानले खासै गल्ती गरेनन् । स्पेनिस खेलाडी भन्छन्, ‘खेलमा उसले खासै गल्ती गरेनन् । उसको खेलबाट धेरै समय आश्चर्यचकितमा परेको थिएँ । तेस्रो सेटसम्म कहाँ सच्याउने भन्ने योजनामै खेल नै समाप्त भयो ।’ यसअघि शीर्ष वरीयताका जानिक सिनेरले अमेरिकन खेलाडी एलेक्स मिसेल्सेनलाई ६–४, ६–० र ६–२ ले हराएका थिए । अस्ट्रेलियन ओपनको उपाधि जितेपछि उनको यो दोस्रो ग्रान्डस्लाम थियो ।
‘न्युयोर्कबाट बाहिरिँदा मुटु नै चल्दैन’
कारोलिना मुचाभासँग सीधा सेटमा पराजित भएपछि पूर्वविजेता ओसाका असाध्यै भावुक बनिन् । उनले युएस ओपनबाट छिट्टै घर फर्किँदा मुटु नै चसक्क हुने बताएकी छिन् । ‘जब म यहाँ न्युयोर्कमा पराजित हुन्छु, त्यसवेलामा मेरो मुटु नै चसक्क हुन्छ । एक किसिमले शरीरमा ज्यान नभएको जस्तो लाग्छ,’ सन् २०१८ र ०२० की विजेता ओसाकाले भनिन् । यसपटक च्याम्पियन हुने लक्ष्यका साथ युएस ओपनमा पुगेकी जापानिज खेलाडीले ससाना गल्तीका कारण पराजित भएको बताइन् ।
‘मैले सामान्य गल्ती गरेकी थिएँ । व्यक्तिगत रूपमा यस हारको जिम्मेवारी म आफूले नै लिनुपर्छ,’ उनले भनिन्, ‘यो एक किसिमले विश्वका लागि नाटकीय नतिजा हो । आउँदा दिनमा अझ अनुभवी भएर आउनेछु ।’ सन् २०१९ र ०२१ की अस्ट्रेलियन ओपन विजेता ओसाकाले केही समयअगाडि युएस ओपन खेल्न तयार नभएको प्रतिक्रिया दिएकी थिइन् । ग्रान्डस्लाममध्ये मन पर्ने युएस ओपन भएकाले परित्याग गर्न नसकेको उनको भनाइ थियो ।