पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरेका हुन्। उनले पुस्तक भोलिको पुस्ताका लागि अध्ययन सामग्री हुने बताए।
पुस्तक विमोचन गर्दै कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटना उल्लेख गरे। उनले भने, ‘ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो। गोली हान्न हुँदैनथ्यो।’
उनले तत्कालीन माओवादीले ४०बुँदे माग बुझाए पनि वार्ताका लागि तयार नभएको बताए । पछि कांग्रेसकै नेतृत्वमा मुलुकमा शान्ति आएको चर्चा गरे।
उनले भने, ‘हामी सशस्त्र द्वन्द्वलाई सफलतापूर्वक शान्ति प्रक्रियामा र संविधानसभाबाट संविधान जारी गर्दै गणतन्त्र व्यवस्थामा आएका छौँ। अहिले संविधानलाई पनि अझै राम्रो बनाउन संशोधन गरेर अघि बढ्न सकिन्छ। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो। यसलाई सुदृढ गर्ने र सुधार गर्दै लैजाने सकिन्छ।’
पस्तकका विषयमा बोल्दै एमाले सचिव लेखराज भट्टले द्वन्द्वकालमा सुदूरपश्चिममा व्यक्तिकेन्द्रित हत्या हुन नदिएको दाबी गरे।
उनले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गर्दै भने, ’त्यो समयमा उपयुक्त रूपमा सही सूचना सञ्चार नहुँदा गलत सूचना फैलिएको देखिन्छ।’
डोटीको छेडा घटना स्मरण गर्दै उनले भने, ‘लगभग २५ जना मारिएका थिए। जसमा पाँचजना गाउँले थिए। बाँकी माओवादी कार्यकर्ता थिए। दुईजना भर्खरका युवतीको बलात्कार गरिएको थियो। त्यो तत्कालीन राज्यपक्षबाट घटाइएको घटना थियो।’
पुस्तकबारे चर्चा गर्दै कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो पुस्तकले द्वन्द्वकालमा भएका घटनाको दस्ताबेजीकरण गरेको भन्दै आगामी दिनको पत्रकारिताका लागि प्रेरणा र अनुसन्धानकर्ताहरूका लागि स्रोत सामग्री बन्ने बताए ।
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले यो पुस्तक अहिलेको नयाँ पुस्ताका पत्रकारहरूका लागि उपहार भएको धारणा राखे।
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार कुन्द दीक्षितले यो पुस्तक द्वन्द्वलाई फेरि दोहोरिन नदिन सहयोगी हुने बताए ।
आफूलाई मार्न खोज्नेसँगै शान्ति प्रक्रिया अघि बढ्नु सफलता मान्न सकिने दीक्षितको भनाइ थियो।
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार बबिता बस्नेतले द्वन्द्वकालमा भएका घटनाको फेहरिस्त पुस्तकमा रहेको बताइन्। उनले भनिन्, ‘द्वन्द्वकालमा कसरी रिपोर्टिङ गरियो र कस्तो समयबाट नेपाली पत्रकारिता गुज्रिएर यहाँसम्म आइपुग्यो भन्ने बुझ्न यो पुस्तक सहयोगी हुनेछ।’
पुस्तकका लेखक उपाध्यायले यो पुस्तक द्वन्द्वकालमा नेपाली पत्रकार र आमसञ्चार जगतले जे भोग्यो त्यो समयको दस्ताबेज भएको बताए । पुस्तक संगम बुक्स पब्लिकेसनले प्रकाशन गरेको हो।
