माओवादी नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलो हो : प्रचण्ड

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताएका छन्।

पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई शुक्रबार सुर्खेतमा सम्बोधन गर्दै उनले सरकारीस्तरमा थालिएको सुशासनको अभियान यो नेपालमै पहिलो भएको बताएका हुन्।

‘सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मूल संकल्पसहित मेरो नेतृत्वको सरकार १९ महिनासम्म चल्यो,’ अध्यक्ष प्रचण्डले भने, ‘यी तीनवटै क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भए । अझ मुख्य गरी सुशासनको क्षेत्रमा नयाँ रेकर्ड नै स्थापित भएको छ।’ 

उनले आफू नेतृत्वको सरकारले सबै खालका भ्रष्टाचारका फाइल खोल्ने काम गरेको स्पष्ट पारे। ‘यति उच्चस्तरबाट अघि बढाइएको भ्रष्टाचारविरुद्धको सरकारी अभियान अहिलेसम्मकै पहिलो हो। सबै खालका भ्रष्टाचारको फाइल खोल्दै ललितानिवास, बाँसबारीसहित देशका विभिन्न स्थानमा भूमाफियाहरूले व्यक्तिका नाममा बनाएको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याउनु चानचुने विषय थिएन,’ उनले भने।
 
माओवादी संख्याले सानो हुँदाहुँदै पनि भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा यति ठूलो अभियान चलाएको देखेर विरोधीहरूमा छटपटी पैदा भएको उनको भनाइ थियो। ‘यसबाट जनता उत्साहित हुँदै थिए, तर दलाल पुँजीपति, माफिया र सामन्तवादका अवेशषहरूमा आतंक सिर्जना भयो । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको एकथरी नेतृत्वमा छटपटी नै पैदा भयो,’ प्रचण्डले भने, ‘त्यसकै परिणामस्वरूप रातारात सहमति गरेर सरकार बनाइएको घामजत्तिकै छर्लंग छ।’

कांग्रेस एमालेले नेतृत्व लिँदै गर्दा हारेर गएजस्तो र माओवादी सरकारबाट निस्कँदा जितेर निस्केजस्तो माहोल बन्न पुगेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यो पार्टी र आन्दोलनका लागि ठुलो पुँजी भएको जिकिर गरे।

‘अब उनीहरू हामीलाई कमजोर बनाउने नाममा हामीले बलिदानीपूर्ण संघर्षमार्फत स्थापित गरेका एजेन्डासहितको संविधानमाथि प्रहार गर्न चाहन्छन्, हामीले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानलाई निस्तेज पार्न चाहन्छन्,’ नेता–कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘यी सबै षड्यन्त्रका विरुद्ध जनतालाई सचेत बनाउँदै अघि बढ्नुपर्नेछ, त्यसका लागि बलियो र एकताबद्ध पार्टीको आवश्यकता छ।’ 

अध्यक्ष प्रचण्डले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौँ नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर नयाँ आशाको जागृत गरिएको पनि बताए।

सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिको एजेन्डा पनि स्थापित हुँदै गएको उल्लेख गर्दै उनले भने, ‘हामीले सरकारको नेतृत्व लिँदै गर्दा धेरैले हाम्रो अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गरिरहेका थिए, तर अर्थतन्त्र पुनरुत्थानका लागि लिइएका नीतिगत पहलका कारण अर्थतन्त्रमा देखिएका संकट क्रमशः समाधान हुँदै अर्थतन्त्रले पुरानै लय समात्न थालेको छ।’

आफ्नो नेतृत्वको सरकारले जलवायु परिवर्तनका मुद्दामा लिएको पहल पनि विश्वले हेर्नलायक बनेको उनले स्मरण गरे। ‘अहिलेको विश्वको ठुलो समस्याको रूपमा जलवायु परिवर्तनको असर देखापर्दै छ र त्यसको मार सबैभन्दा बढी नेपालजस्ता मुलुकहरूले खेपिरहेका छन्। यो मुद्दामा हामीले गरेको हस्तक्षेपपूर्ण पहलले विश्वको ध्यान राम्रोसँग नेपालमा केन्द्रित भएको छ । मैले संयुक्त राष्ट्रसंघमा गरेको अपिल तथा गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट संयुक्त राष्ट्रसंघका महासचिव र आफूले विश्वलाई गरेको आह्वान नयाँ कदमको रूपमा स्थापित भएको छ।’ 

यीलगायत आफ्नो नेतृत्वको सरकारले थालेका सबै काम देश, पार्टी र आन्दोलनका पुँजी भएकाले अब यी एजेन्डालाई संस्थागत र सुदृढ गरेर लैजानुपर्ने उनले धारणा राखे। ‘नेपालमा जे–जति राजनीतिक परिवर्तन भएको छ, अधिकारबाट वञ्चित सबै समुदायलाई मूलधारमा ल्याउने गरी जसरी संविधान निर्माण गरिएको छ, यो माओवादी आन्दोलनकै उपलब्धि हो। यो गौरवपूर्ण इतिहास र पटकपटक हामीले सरकारको नेतृत्व गर्दा ऊर्जा, सञ्चार, सुशासन, सामाजिक न्यायलगायतका क्षेत्रमा प्राप्त गरेका उपलब्धिको जगमा नै अब पार्टीलाई सुदृढ र बलियो बनाएर लैजान सकिनेछ।’ 

जनयुद्ध र जनआन्दोलनका उपलब्धिमाथि प्रहार हुन थालेकाले अहिलेका चुनौतीको सामना गर्न सक्ने पार्टी निर्माण बनाउनुपर्ने जोड दिँदै उनले पदाधिकारीको मुख्य टिम नै सबै प्रदेशमा त्यहाँ कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सुझाव लिने नयाँ अभ्यास थालिएको बताए। सबै प्रदेशबाट प्राप्त सुझावका आधारमा दस्ताबेज तयार पारेर आगामी केन्द्रीय समिति बैठकमा पेस गरिने उनको भनाइ थियो।

शुक्रबारदेखि सुरु भएको कर्णाली प्रदशस्तरीय परामर्श बैठक शनिबार सम्पन्न हुनेछ। 

सुझावित समाचार