यस वर्ष सयजनालाई शैक्षिक ऋण दिँदै भक्तपुर नगरपालिका

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्षमा सयजनालाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । नगरपालिकाले शैक्षिक ऋणका लागि आवेदन दिने विद्यार्थीको १८ भदौमा अन्तर्वार्ता मिति तोकेको छ ।

नगरपालिकाले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि गरिब तथा जेहेनदार करिब सयजना स्थानीय विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराउन लागेको हो । शैक्षिक ऋण लिनका लागि हालसम्म एक सय ६६ जनाको आवेदन परेको र सोही आवेदनमध्येबाट करिब सयजनालाई शैक्षिक ऋण उपलब्ध गराउने नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले बताए । ‘शैक्षिक ऋण पाऊँ भनेर हालसम्म एक सय ६६ जनाको आवेदन परेको छ । मापदण्ड पुग्नेलाई शैक्षिक ऋण दिन्छौँ । यसका लागि आगामी मंगलबार अन्तर्वार्ता लिँदै छौँ,’ सुवालले भने । नगरपालिकाका अनुसार प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजदरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययनमा नगरपालिकाको तर्फबाट सुविधा दिन यो कार्यक्रम सुरु गरिएको हो ।

शैक्षिक ऋण दिन ०७५ सालमै नगरपालिकाको चौथो नगरसभाबाट शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका ०७५ पारित भएको थियो । निर्देशिका १९ वैशाख ०७६ मा स्थानीय राजपत्रमा प्रकाशित भएको थियो । भने सोही वर्षबाटै नगरपालिकाले निर्देशिकाअनुसार शैक्षिण ऋण दिँदै आएको छ । 

कसले पाउँछन् शैक्षिक ऋण ?
शैक्षिक ऋणबापत प्रत्येक व्यक्तिले पाँच लाखसम्म प्राप्त गर्न सक्नेछन् । एसइईभन्दा माथि विद्यावारिधि (पिएचडी) गर्नेसम्मले ऋण पाउँछन् । हालसम्म नगरपालिकाले दिएको शैक्षिक ऋण ६ सय १७ जनाले प्राप्त गरिसकेका छन् । ७५३ स्थानीय तहमध्ये यस्तो ऋणको व्यवस्था गर्ने भक्तपुर पहिलो हो । नगरपालिकाका अनुसार प्रत्येक वर्ष शैक्षिक ऋणका लागि आवेदनमा वृद्धि भएको छ ।

कसरी पाइन्छ शैक्षिक ऋण ?
ऋण माग गर्ने विद्यार्थीले निर्देशिकाको अनुसूची १ बमोजिम वडा समितिमा निवेदन पेस गरी सिफारिस लिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सम्बन्धित वडा समितिले अनुसूची २ बमोजिम शैक्षिक ऋणका लागि नगरपालिकासमक्ष सिफारिस गर्नेछ । सिफारिस भई आएपछि उक्त सिफारिससमेत संलग्न गरी अनुसूची ३ बमोजिम नगरपालिकामा निवेदन दिनुपर्नेछ । नगरपालिकामा निवेदन दिएपछि मेयरले शैक्षिक ऋण स्वीकृत गर्न सक्नेछन् भने मेयरबाट ऋण स्वीकृत भएपछि नगरपालिका आर्थिक प्रशासन शाखाबाट ऋण उपलब्ध हुनेछ । 

तोकिएको समयमा ऋण नतिरे नगरपालिकाको सेवाबाट वञ्चित
विद्यार्थीले तोकिएको समयभित्र ऋण नतिरे नगरपालिकाले प्रदान गर्ने सेवा वञ्चित गर्नेछ । निर्देशिकाअनुसार शैक्षिक कोर्सको अन्तिम परीक्षा दिएको मितिले एक वर्षभित्र ऋण रकमको न्यूनतम २५ प्रतिशत असुल हुनेछ । कोर्सको अन्तिम परीक्षा दिएको मितिले दुई वर्षभित्र ऋण रकमको न्यूनतम ५० प्रतिशत असुल हुनेछ । शैक्षिक कोर्सको अन्तिम परीक्षा दिएको मितिले तीन वर्षभित्र ऋण रकमको न्यूनतम ७५ प्रतिशत सावाँब्याज असुली हुनेछ । शैक्षिक कोर्सको अन्तिम परीक्षा दिएको मितिले चौथो वर्षभित्र सबै ऋण रकमको शतप्रतिशत सावाँ ब्याज तिर्नुपर्नेछ । उक्त समयावधिभित्र ऋणको सावाँब्याज नतिरे बुझाउनुपर्ने सावाँब्याजको पाँच प्रतिशत हर्जना गरी विद्यार्थी र उसको साक्षी बसेको परिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ । शैक्षिक ऋणको वार्षिक ब्याजदर ६ प्रतिशत छ । 

सुझावित समाचार