संविधानविद् भीमार्जुन आचार्यलाई तीन प्रश्न

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

नेताविरुद्ध नाराबाजी गर्ने युवालाई सरकारले सार्वजनिक शान्तिविरुद्धको मुद्दा लगाउनु ठिक हो ?
बिल्कुलै ठिक होइन । यो सरासर शक्तिको दुरुपयोग हो । शान्तिपूर्वक भेला हुन पाउने र आफ्नो असहमति लेखेर, बोलेर, गाएर या अन्य कुनै पनि माध्यमबाट राख्न पाउनु सबैभन्दा ठुलो संवैधानिक स्वतन्त्रता हो । सरकारले यसको गम्भीर ढंगले उल्लंघन गरेको छ । उसको यो कार्य संविधानसँग कतै पनि मेल खाँदैन । जनताले भिन्न मत राख्नै नपाउने हो भने यो व्यवस्थाको नाम ‘लोकतन्त्र’ किन राख्नु ? विरोध गर्नेले सामान्य व्यक्तिको व्यक्तिगत विरोध गरेका होइनन् । उनीहरूले सत्तामा बस्नेका काम मन नपरेर विरोध गरेका हुन् । यस्तोमा शान्तिपूर्ण विरोध गरेकै भरमा धरपकड गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो । 

यस्तो गिरफ्तारीले समाजमा कस्तो सन्देश देला ?
समय, घडी, पला मिलाएर र ठाउँ हेरेर विरोध गरिन्न । जहाँ आफ्ना कुरा सुनाउन सहज हुन्छ, त्यहीँ सुनाउने हो । त्यसैले, यहाँ धार्मिक पर्वमा विरोध गरियो भन्नुको अर्थ छैन । यो सब नेताप्रति जनतामा झांगिएको चरम वितृष्णाको परिणाम हो । यस्तो विरोधलाई नेताहरूले नै सहज रूपमा लिन सक्नुपथ्र्यो । तर, उहाँहरूले आफ्नो दम्भ प्रदर्शन गर्नुभयो । उहाँहरूले यो पुलिस शासित राज्य होइन, संविधान शासित  राज्य हो भन्ने बिर्सिनुभयो । 

यस्तो अवस्थामा नेताहरूले आफूलाई सच्याउने कि विरोधीको मुख थुन्दै हिँड्ने हो ?
नेताहरूले आफूलाई सच्याउनुको विकल्प छैन । यतिखेर सिंगो देशले विरोध गर्ने युवालाई समर्थन गरिरहेको अवस्था छ । नेताहरूले आफूमाथि प्रश्न उठिसकेपछि झनै विनम्र र सहिष्णु देखिएर आफूलाई सुधार्ने बाटामा जानुपर्ने हो । सही बाटो पनि त्यही हो । विरोध गर्नेको मुख थुन्न सकिन्न र मिल्दैन पनि ।

सुझावित समाचार