सञ्चालनमा आएको १२ वर्षमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ सयजनामा मिर्गौला प्रत्यारोपण गरेको छ। पछिल्लो समय मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाहरूबाट अंग लिएर प्रत्यारोपणमा जोड दिइरहेको केन्द्रले मिर्गौलासँगै २८ जनाको कलेजो प्रत्यारोपण गरेको छ।
जनशक्ति र स्रोतसाधन पर्याप्त भए पनि ठाउँ अभावमा सेवा बढाउन नसकिएको बताउँदै आएको अस्पताल प्रशासनले पछिल्ला वर्षहरूमा मिर्गौला र कलेजो प्रत्यारोपणको दर बढाउँदै लगेको जनाएको छ। केन्द्रले पछिल्लो आर्थिक वर्षमा मात्रै १५ जनाको कलेजोसहित जम्मा २११ जनाको शतप्रतिशत सफल प्रत्यारोपण गरेको थियो।
केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठ केन्द्रको आफ्नो भवन र उपयुक्त जग्गा जमिन नभएको वर्तमान अवस्थामा पनि प्रत्यारोपण सेवा बढाउन केन्द्रले सक्दो प्रयास गरिरहेको बताउँछन्। उनले उपयुक्त जमिन उपलब्ध हुनासाथ केन्द्रको क्षमता विस्तार गरी तत्काल ३०० बेडको प्रिफ्याब भवन ६ महिनाभित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।