मध्यभोटेकोशीको प्रसारणलाइन निर्माणमा सहमति

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका– २  का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबिच बुधबार भएको छलफलमा सहमति जुटेको छ।

बाह्रबिसे नगरपालिका– ५ स्थिति आयोजनाको विद्युतगृहको स्विचयार्डबाट सोही नगरपालिका– ३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारणलाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो।

२२० केभी सिंगल सर्किट प्रसारणलाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो। तर, बाह्रबिसे नगरपालिका– ३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको थिएन। उक्त दुई किलोमिटरमा पर्ने प्रसारणलाइनको मार्गधिकार (राइट अफ वे) मा १२४ जना जग्गाधनीको जग्गा पर्दछ।

बुधबार भएको छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ। आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका– ३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाईजस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रसारणलाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरूको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ। यसैगरी, प्रसारणलाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारणलाइन निर्माणमा जारी अवरोध खुलाउन महत्त्वपूर्ण सहमति भएको बताए। मन्त्री खड्काले भएका सहमति सबै पक्षले इमानदारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए।

सहमतिबमोजिम तत्काल निर्माण कार्य सुरु गर्न निर्देशन दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले निर्माण कार्यको आफूले नियमित अनुगमन गर्ने बताए। सांसद बस्नेतले विगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको बताउँदै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन आफूले साथ दिएको उल्लेख गरे।

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि  सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ। निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो र हाल सुरुङको मर्मत र सुधार सकिएको छ। आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँकी कामहरू भइरहेका छन्।

मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ। २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युतलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारणलाइनबाट प्रवाह गरिनेछ। यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी  शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारणलाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको प्राधिकरणले जनाएको छ।

सोही प्रसारणलाइनबाट मध्यभोटेकोशीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारणलाइन सम्पन्न नभएसम्म रहनेछ ।

सुझावित समाचार