परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशमा राजनीतिक प्रतिशोधको संस्कृति विकास हुन थालेपछि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताएकी छिन् । धनगढीस्थित आफ्नै निवासमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले यो समीकरण ०८४ सम्मै जाने बताइन् ।
‘अरू देशको जस्तो नेपालमा राजनीतिक प्रतिशोधको कल्चर थिएन, त्यस्तो कल्चर पनि देखियो, फेक केसहरू बनाउने,’ उनले भनिन्, ‘यसले राजनीतिको बाटो पछाडितिर जान्छ कि भन्ने पिरले पनि यो दुई पार्टी मिलेर लामो समयसम्म चल्ने स्टेबल गभर्मेन्टको परिकल्पना गरेर गभर्मेन्ट बनेको हो।’ राज्य सञ्चालनमा देखिएका बेथिति अन्त्य गर्दै विकासका लागि काम गर्न सरकार गठन भएको उनको भनाइ थियो ।
मुलुकमा राजनीतिक परिवर्तन भए पनि मुलुकमा समृद्धि हुन नसकेको र बेथिति बढ्दै गएपछि स्थिर सरकारको परिकल्पना गरिएको उनले बताइन् । मन्त्री देउवाले यो गठबन्धन ०८४ सम्मै जाने दाबीसमेत गरिन् । उनले सुरुको दुई वर्ष केपी ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताइन्।
दुई ठूला पार्टी मिलेपछि वर्षौँदेखि अल्झिएको टिआरसी विधेयक अगाडि बढेको उनले बताइन् । प्रधानमन्त्री केपी ओलीकाे महिला प्रधानमन्त्री बनाउने इच्छा रहेकोे टिप्पणीप्रति उनले आफू प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताइन् । ‘पार्टीभित्र मेरो कति हैसियत छ मलाई थाहा छ,’ देउवाले भनिन्, ‘हाम्रो पार्टीको क्यान्डिडेट शेरबहादुर देउवा नै हो।’
उनले संविधान संशोधन पनि आवश्यक रहेको बताइन् । संविधानको मूल मर्म नमर्ने गरी केही विषयहरू संशोधन आवश्यक रहेको धारणा राखिन्। उनले आफ्नो भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नति, सुदूरपश्चिममा झुलाघाट र परशुराममा पुल निर्माणका लागि कुराकानी भएको दाबी गरिन् । त्यस्तै, धनगढीको फाप्लामा क्रिकेट मैदान निर्माणबारे पनि आफ्नो भारत भ्रमणका क्रममा भारत सरकारसँग कुरा गरेको उनले बताइन्।