पोखरा पर्यटन परिषदमा पहारी

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

पोखरेली पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्को अध्यक्षमा तारानाथ पहारी निर्वाचित भएका छन् । परिषद्को बुधबार पोखरामा सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनले दुईवर्षे कार्यकालका लागि पहारीलाई अध्यक्षमा र अन्य ६ जनालाई सदस्यमा निर्विरोध चयन गरेको हो । 

निर्वाचित ६ सदस्यहरूमा चौबहादुर गुरुङ, हरि भुजेल, नारायण सुवेदी, बाबुराम पाण्डे, निम मगर र जीवन सापकोटा रहेका छन् । कार्यसमितिमा थप तीन सदस्यसहित पदाधिकारी चयन गर्ने अधिकार विधानले अध्यक्षलाई दिएको छ । निर्वाचित ६ र अध्यक्षले मनोनीत गर्ने तीन सदस्यबाट पदाधिकारीहरू अध्यक्षले चयन गर्नेछन् । परिषद्को निवर्तमान अध्यक्षमा पोमनारायण श्रेष्ठ रहेका छन् । परिषदमा होटेल संघ पोखरा, रेबान, टान, नाट्टा, ना, टेसालगायत पर्यटनसम्बद्ध १८ वटा संघसंस्थाहरू आबद्ध छन् । 

यसअघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै मन्त्री थापासँगै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उद्योग तथा पर्यटनसचिव कुमानसिंह गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, भारतीय पेन्सन क्याम्प पोखराका इन्चार्ज लेफ्टिनेन्ट कर्णेल प्रशानसिंह भदेल, परिषद्का पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई, सम्मानित हरि पौडेल, गायक विवेक श्रेष्ठ, परिषद्का सचिव सञ्जयकान्त सिग्देललगायतले पोखरा पर्यटकीय राजधानी घोषित भइसकेको अवस्थामा अब पोखरामा र आसपासका क्षेत्रमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सबैको साथ र सहकार्य आवश्यक रहेकोमा जोड दिए। 

पोखरासँगै आसपासका क्षेत्रमा पर्यटनको अथक सम्भावना भएकाले अब अन्तर्राष्ट्रिय क्षेत्रमा सोहीअनुसार यसको प्रचारप्रसार गर्न सके पोखरामा धेरैभन्दा धेरै विदेशी भित्र्याउन सकिने बताएका थिए । आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन विभिन्न खेलसँगै अन्य गतिविधि सञ्चालन गर्नुपर्ने, सरकारले पोखरा अन्तर्राष्ट्रिय  विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पोखराका पर्यटन र अन्य व्यवसायीले राखेको सुझावअनुसार विभिन्न निर्णय गरेकाले उडानका लागि अब सबैले आ–आफ्नो क्षेत्रबाट सकेको पहल गर्न आवश्यक रहेकोमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए । 

सुझावित समाचार