राम्रो बिउ
घरको कौसी वा बरन्डाजस्ता सानो स्पेस भएका ठाउँलाई पनि गमलामा फूल रोपेर सजाउन सकिन्छ । सकभर दैनिक पाँचदेखि ६ घन्टासम्म घाम लाग्ने तथा बिरुवालाई पर्याप्त मात्रामा पानी उपलब्ध हुने स्थान छनोट गर्नुपर्छ । बिरुवावरपर चारैतर्फ पर्याप्त खाली स्पेस राख्न सके गमलामा पानी हाल्न पनि सजिलो हुन्छ । गमलाको बिरुवालाई तेज हावा र गर्मीको समयमा तीव्र प्रकाशबाट पनि बचाउनुपर्ने हुन्छ । किनकि, तेज हावा र तीव्र प्रकाशले बिरुवालाई नष्ट गरिदिन सक्छन् ।
ठाउँको चयन गरिसकेपछि तपाईंले राम्रो बिउको छनोट गर्नुपर्छ । जसकारण, तपाईंलाई भविष्यमा राम्रो र स्वस्थ बिरुवा प्राप्त होस् । आफ्नो नजिकको नर्सरी वा बिउ पसलमा गएर राम्रो बिउ वा बिरुवा छनोट गर्न सक्नुहुन्छ । त्यस्तै, राम्रो गमलाको पनि छनोट गर्नुपर्छ । बजारमा सेरामिक, प्लास्टिक र माटोको गमला पाइन्छ । बिरुवाअनुसार तपाईंले गमला छान्दा राम्रो हुन्छ । बजारमा सस्तो मूल्यमा पनि बलियो, आकर्षक र विभिन्न डिजाइनका गमला पाइन्छन् ।
माटो छनोट
उर्वराशक्ति धेरै भएको माटो गमलामा हालियो भने बिरुवा चाँडै हुर्कन्छ । बिरुवालाई हुर्कन माटो मलिलो हुनुपर्छ । त्यसका लागि माटोमा ४० प्रतिशत कोकोपिट (नरिवलको जुटको धुलोबाट बनाइएको) र २० प्रतिशत कम्पोस्ट मल मिसाउँदा खुकुलो बन्छ र बिरुवा फैलिन्छ । त्यस्तै, घरमै राम्रो माटो छानेर त्यसमा अर्गानिक मल मिसाउन पनि सकिन्छ ।