अनि जाग्छ अध्ययनमा बालबालिकाको रुचि

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

बच्चासँग पढ्ने : ‘मेरो बच्चा पाँच वर्षको भयो । आफैँ पढ्छ,’ अभिभावकहरू गर्वसाथ भनिरहेका हुन्छन् । तर, बच्चालाई एक्लै पढ्न छाड्ने होइन, आफूसँगै बसेर अक्षरहरूको यात्रा गराउनुपर्छ । आफ्ना बच्चासँग बसेर पढ्नुस् । पढेका कुराबारे छलफल गर्नुस् । उनीहरूका कुरा सुन्नुस् र आफूलाई मन परेका पक्षबारे पनि कुरा गर्नुस् । 

रोजाइ :  बच्चालाई इच्छा लागेका सामग्री पढ्न दिनुस् । बच्चाको इच्छा बुझेर आफू पनि त्यही सामग्री पढ्नुस् र छलफल गर्नुस् । यस्तो हुँदा बच्चाको लगाव र जिज्ञासा बढेर जान्छ । उनीहरूलाई कथा वा कार्टुन जे मन पर्छ, त्यही पढ्न दिँदा हुन्छ । तर, महत्वपूर्ण कुरा सामग्री पठनीय हुनुपर्छ । 

ब्रेक : तपाईंको बच्चाले कुनै पुस्तक पढिसकेपछि उसलाई अन्य रमाइला क्रियाकलापमा संलग्न गराउनुस् । घुम्न लैजानुस् । त्यस पुस्तकको कुन पक्ष मन पर्यो ? के सिकायो ? यसले के परिवर्तन ल्याउँछ ? कुन पात्र मन पर्यो ? यी विषय सोध्नुस् । यस्ता छलफलले उनीहरूको सोच्न सक्ने क्षमता र पुस्तक पढिसकेपछि सम्झन सक्ने क्षमता अभिवृद्धि गर्छ । 

समयसीमा निर्धारण नगर्नुस् :  बच्चालाई यति नै समयमा यो पुस्तक पढिसक्नुपर्छ भनेर दबाब दिने काम नगर्नुस् । हतारोमा पढ्दा उनीहरूले अध्ययनको मज्जा लिन पाउँदैनन् । उनीहरूलाई आनन्दले पढ्न लगाउनुस् । 

वातावरण :  घरमा पढ्ने वातावरण बनाउन जरुरी छ । यसका लागि बेग्लै स्पेस छुट्याउन सकिन्छ । त्यहाँ आवश्यक पुस्तकहरू राख्नुस् ।  बच्चालाई त्यस ठाउँमा पुगेपछि अध्ययन गर्न मन लागोस् । 

सुझावित समाचार