जुलाईको अन्त्यमा लेबनानमा हिजबुल्लाह कमान्डर फुआद शुक्रको हत्याको बदलामा हिजबुल्लाहका तर्फबाट ठुलो आक्रमण हुन सक्ने इजरायलले केही सातादेखि अनुमान गरिरहेको थियो । अन्ततः आइतबार बिहानै त्यो आक्रमण भयो । प्रत्याक्रमणका लागि इजरायल स्पष्ट रूपमा तयार थियो । हिजबुल्लाह हमलालाई असफल पारिदिएको इजरायलीले अहिले दाबी गरेका छन् । अर्कोतर्फ हिजबुल्लाहले पनि आफ्नो आक्रमण सफल भएको दाबी गरेको छ । त्यसो भए हामी दुई पक्षबीचको ‘जस्तालाई तस्तै’ शैलीको हमला र धारणाबाट के बुझ्न सक्छौँ ?
स्पष्ट रूपमा इजरायल र हिजबुल्लाह दुवै यस चरणमा अर्को कुनै कारबाहीबाट पछि हटेका छन् । हिजबुल्लाहले यो आफ्ना कमान्डरको हत्याको जवाफमा (प्रतिक्रियामा) केबल पहिलो चरणको हमला भएको र उक्त कारबाहीको ‘सफलता’को मूल्यांकन गरेपछि थप प्रहार गर्ने अधिकार सुरक्षित रहेको टिप्पणी गरेको छ ।
हिजबुल्लाहले सीमा पार गर्न सम्भवतः एक हजार रकेट प्रक्षेपण गर्ने तयारी गरेको आफूले देखेको इजरायलले दाबी गर्यो । उसले पूर्वनिर्धारित रूपमा दक्षिणी लेबनानमा लगभग एक सय विमान पठायो र रकेट लन्चरसहित दुई सय ७० प्रहार गर्यो । पूर्ण मात्रामा युद्ध सुरु भएमा हिजबुल्लाहले दैनिक तीन हजार मिसाइल प्रहार गर्न सक्ने विश्वास गरिन्छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि हिजबुल्लाहविरुद्धको कारबाही सफल भएको दाबी गरे । कारबाही अन्त्य भइनसकेको र आवश्यक परे इजरायलले थप प्रहार गर्ने उनले चेतावनी दिए । हिजबुल्लाह समूहले इजरायली प्रतिरक्षा हमलाले धेरै नोक्सान पुर्याएको भन्ने जेरुसेलमको दाबी अस्वीकार गर्यो । इजरायलले केबल खाली उपत्यकामा प्रहार गरेको समूहको दाबी छ । सोही समयमा हिजबुल्लाहले उत्तरी इजरायलमा ठुलो संख्यामा काट्युसा रकेट पठाएर बदला लियो । त्यसो त यी हिजबुल्लाहको हतियारमा सबैभन्दा ठुलो रकेटहरू होइनन् । किनकि, तिनीहरूसँग केवल ४० किलोमिटरको सीमित दायरा छ । तसर्थ ती रकेटले उत्तरी इजरायलमा मात्र लक्ष्यहरू प्रहार गर्न सक्छन् । हिजबुल्लाह समूहका अनुसार रकेटहरू ड्रोनहरूको छाललाई इजरायलमा जान बाटो बनाउने माध्यम थिए । आक्रमणमा एक इजरायली नौसेना नाविक मारिए ।
एक भिडियो सन्देशमा हिजबुल्लाह नेता हसन नसरल्लाहले लेबनानी जनतालाई यो स्थितिमा (अस्थिरता) राखेकोमा माफी मागेका छन् । यो सम्भवतः अचम्मको विषय होइन, किनकि हिजबुल्लाह एक राजनीतिक तथा सैन्य खेलाडी हो र यसले लेबनानी राजनीतिक प्रणालीमा निरन्तर मत जित्ने सुनिश्चितता गर्न आवश्यक छ ।
तर, नसरल्लाहले हिज्बुल्लाहले आफ्नो उद्देश्य हासिल गरेको र सीमाबाट टाढा सरेका लेबनानीलाई फिर्ता जान प्रोत्साहन गरिरहेको बताए । जे होस्, त्यो अलि हतार हुन सक्छ, किनकि फिर्ती प्रक्रिया कसरी हुन्छ भन्ने विषय अझै पनि स्पष्ट छैन ।
धेरै विश्लेषकले बेरुतमा हिजबुल्लाह कमान्डर शुक्र र जुलाईमा तेहरानमा हमास नेता इस्माइल हानियेको हत्याका लागि समन्वयात्मक रूपमा गरिएको बदलापूर्ण आक्रमण हुन सक्ने अनुमान गरेका थिए । यसमा इरानबाट मिसाइल र रकेटहरू, लेबनानको हिजबुल्लाह र सम्भवतः यमनका हुथी विद्रोही र सिरिया र इराकमा सिया लडाकु समूह समावेश भएका हुन सक्ने अनुमान गरिएको थियो । तर, त्यसो भएन । यसको अर्थ केही नयाँ घटनाक्रम हुन सक्छ ।
पहिलो यस चरणमा इरानले हानियेको हत्याको जवाफ दिने उत्तम तरिका अपनाउन खोजिरहेको छ । अप्रिलमा उसले दमास्कसमा इरानी कूटनीतिक भवनमा भएको बम विस्फोटको बदलामा इजरायलमा ३०० भन्दा बढी मिसाइल, ड्रोन र रकेट प्रहार गरेको थियो । प्रहारमा धेरै इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) का सदस्य मारिएका थिए । वास्तवमा ती सबैलाई गोली हानिएको थियो । तथापि, त्यहाँ कुनै गम्भीर क्षति भएको थिएन ।
त्यसको पुनरावृत्तिले इरानसँग इजरायलविरुद्ध गम्भीर कारबाही गर्ने क्षमता नभएको संकेत गर्छ । इरान पनि ठुलो प्रतिशोधात्मक आक्रमण सुरु गर्न चाहँदैन, किनभने यसले फराकिलो युद्ध सुरु गर्न सक्छ । तेहरान अमेरिकी वा इजरायलीलाई आफ्नो आणविक केन्द्रमा संयुक्त आक्रमण गर्ने बहाना दिन चाहँदैन । त्यसकारण, इरानले आफ्नो अप्रिल हमला र थोरै बलियो प्रतिक्रियाबिच केही मध्यबिन्दुमा काम गर्ने प्रयास गरिरहेको छ । यसले स्पष्ट रूपमा समय लिइरहेको छ ।
यसले इरानभित्र नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियान (जो इरानमा व्यावहारिक रूपमा चिनिन्छन्) र आइआरजिसीबिच बहस भइरहेको संकेत गर्न सक्छ । आइआरजिसीले केही समयदेखि इजरायललाई धेरै कडा प्रतिक्रियाको धम्की दिइरहेको छ । इरानले केवल आफ्ना प्रोक्सी (प्रतिनिधि)मार्फत इजरायललाई जवाफ दिने निर्णय गरेको हुन सक्छ । यो चरणमा हिजबुल्लाह र हुथीहरूद्वारा सीमित आक्रमण गर्न इरान इच्छुक छ ।
प्रधानमन्त्री नेतन्याहु आफ्नो मन्त्रिपरिषद्को दक्षिणपन्थी समूहबाट निरन्तर दबाबमा छन्, जसले लामो समयदेखि इजरायलको उत्तरी सीमामा हिजबुल्लाहको खतरा हटाउन वकालत गरेको छ । यद्यपि, यो धेरै गाह्रो काम हो । इजरायलले सन् २००६ मा एकपटक यो प्रयास गर्यो र वास्तवमै असफल भयो । थप रूपमा लगभग ६० हजार इजरायली उत्तरी इजरायलमा आफ्ना घर खाली गर्नुपरेको छ र हिजबुल्लाहको खतराको कारण अस्थायी आवासमा बस्न बाध्य छन् । उनीहरू नेतन्याहुले आफूहरूलाई सुरक्षित ढंगले फर्काइदिए हुन्थ्यो भन्ने चाहन्छन् । दुइटा मोर्चामा सैन्य धम्कीको जवाफ दिनु इजरायललाई गाह्रो छ । इजरायलको सेनाले अब गाजामा हमाससँग लडिरहेको छ र केही हदसम्म उत्तरी इजरायललाई हिजबुल्लाह आक्रमणबाट लगभग ११ महिनादेखि जोगाउँदै छ ।
स्थायी इजरायली सेना पनि त्यति ठुलो छैन । योसँग लगभग एक लाख ६९ हजार नियमित लडाकु छन्, यसको मतलब यो यसको वर्तमान आवश्यकताहरू पूरा गर्न ‘रिजर्भ’मा राखिएका तीन लाख सेनामा निर्भर हुनुपर्छ । र उनीहरूलाई सेवामा ल्याउँदा समस्या उत्पन्न गर्छ । यसले अर्थतन्त्रलाई असर गर्छ, किनभने तिनीहरूले आफ्नो जागिर छोड्छन् । पछिल्लो दुई हप्तामा फिच रेटिङ्स एजेन्सीले इजरायलको मूल्यांकनलाई एबाट ए माइनसमा मूल्यांकन गर्यो, जसले बढ्दो भूराजनीतिक जोखिमका अतिरिक्त देशको अर्थतन्त्रले जुन रूपमा काम गर्नुपथ्र्याे, त्यसरी नगरेको तथ्यलाई झल्काउँछ । देश एक अनन्त युद्धस्तरमा छ र सेना यसलाई तोड्न चाहन्छ ।
यद्यपि, नेतन्याहु लडाइँमा हुने कुनै पनि प्रकारको विराम (रोकावट)प्रति सावधान छन्, किनभने यसले उनको गठबन्धनलाई निराश पार्न सक्छ र यसले चुनाव घोषणा गर्न बाध्य पार्न सक्छ । र, चुनावमा उनी सजिलै हार्न सक्छन् । अक्टोबर ७ को हमास आक्रमणपछि उनको सम्पूर्ण रणनीति आफ्नो सुरक्षा प्रमाण पुनस्र्थापित गर्ने हो ।
खतरा लामो समयसम्म लम्बिने देखिन्छ, तर हेजबुल्लाहले गाजामा युद्धविराम भएमा आक्रमण रोक्ने बताएको छ । त्यसो भए हामी एक घेराबन्दीमा फसेका छौँ, जुन इजरायल र हमासबिचको युद्धविराम वार्तामा सफलता नभएसम्म रोकिनेछैन । दुवै पक्षमा रहेका अवरोधलाई मनन गर्दा यो घेराबन्दी चाँडै रोकिनेछैन ।
द कन्भर्सेसनबाट