एक करोडको अवैध सुनचाँदीसहित बाँकेबाट चारजना पक्राउ

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

बाँके प्रहरीले एक करोड पाँच लाख ३३ हजार रुपैयाँ पर्ने अवैध सुनसहित चारजनालाई नेपालगन्जबाट पक्राउ गरी सार्वजनिक गरेको छ। अवैध सुनचाँदीको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका– ११, बिपीचोकबाट सुन बरामद गरेको हो।

राजापुर नगरपालिका– ८, बर्दियाका ४० वर्षीय नेपाली थारूले चलाएको प्रदेश ०३०१–०२४ च ६७६३ नम्बरको कारमा चेकजाँच गर्दा उक्त सुन फेला परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। उनले कारमा सवार राजापुर नगरपालिका– ४ का ४२ वर्षीय निमप्रकाश सुनारको साथबाट सुनजस्तो देखिने ६७ ग्राम धातुको टुक्रा फेला परेको बताए। उनका अनुसार उक्त कारमा सवार नेपालगन्ज उपमहानगरपालिका– ११ का २१ वर्षीय राहुल सोनारको साथबाट १७२ ग्राम चाँदीको पायल र तारसमेत बरामद भएको छ।

पक्राउ परेकाहरूको बयानको आधारमा अनुसन्धान गर्दा नेपालगन्ज उपमहानगरपालिका २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट ३४० ग्राम सुनजस्तो देखिने धातु र चाँदीजस्तो देखिने १० किलो ४४१ ग्राम धातु बरामद भएको डिएसपी डाँगीले जानकारी दिए। उनले भने, ‘उक्त कारखानामा कार्यरत राप्तीसोनारी गाउँपालिका २, बाँकेका २४ वर्षीय ओमजंग चौधरीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ। बयान र स्थलगत अनुसन्धानबाट थप रहस्य पत्ता लाग्नेछ।’

उनले सुन ओसार्न प्रयोग भएको कारलाई समेत नियन्त्रणमा लिइएको बताए। ‘बरामद भएको सुन, चाँदी र सवारीसाधन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाएका छौँ,’ डाँगीले नयाँ पत्रिकासँग भने।

सुझावित समाचार