फेन्सी पसलमा आगलागी हुँदा करिब एक करोडको क्षति

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

नेपालगन्जको न्युरोडस्थित सत्यम् फेन्सी पसलमा आगलागी हुँदा पसलमा भएको सम्पूर्ण लत्ताकपडा जलेर नष्ट भएको छ। गएराति करिब १० बजेको समयमा भएको आगलागीमा करिब एक करोड रुपैयाँको क्षति भएको छ।

पसल बन्द गरेर गएको एक घण्टामा आगलागी भएको प्रोप्राइटर अरुणकुमार जयसवालले बताए। उनले क्षतिको विवरण संकलन भइरहेको बताए। ‘एक करोडको क्षति भएको अनुमान छ। खरिद र बिक्रीको बिल हेरेपछि यकिन भन्न सकिएला,’ उनले भने।

आगलागी भएको जानकारी पाउनेबित्तिकै नेपालगन्ज उपमहानगरको दमकललाई खबर गरे पनि ढिलो आउँदा क्षति धेरै भएको उनले गुनासो गरे। ‘आगलागी भएको छिमेकीले देखेपछि हामीलाई खबर गरे। सटर खोल्नेबित्तिकै आगो झनै दन्कियो। खबर गरेको करिब ४५ मिनेटपछि मात्र दमकल आयो,’ उनले भने, ‘दमकल समयमा आएको भए क्षति कम हुन्थ्यो होला।’


विद्युत् सर्ट भएर आगलागी भएको अनुमान प्रहरीले गरेको छ। ‘प्रारम्भिक स्थलगत अध्ययनले विद्युत्  सर्ट भएर आगलागी भएको देखिन्छ,’ बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले भने, क्षतिको विवरण संकलन भएपछि क्षतिको विवरण भन्न सकिन्छ ।’

सुझावित समाचार