प्रधानमन्त्री केपी ओलीले महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन् । तर, त्यसका लागि तयारी भने गर्नुपर्ने उनको भनाइ छ । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु । तर, त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । रियालिटीमा अहिले दुई महिनामा, तीन महिनामा, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुन सक्छ । तर, छिट्टै बनाउने तयारीबारेमा सोचिराखेको छु,’ शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा ओलीले भने ।
आफूले पहिलो महिला राष्ट्रपति, पहिलो महिला सभामुख, पहिलो महिला प्रधानन्यायाधीश बनाएको उनले दाबी गरे । ‘म कमसेकम यस्तो शौभाग्यशाली मानिस हुँ जसले देशको पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो । पहिलो सभामुख महिला बनायो । मेरै समयमा हो यो सबै भएको । र, पहिलो रक्षामन्त्री महिला बनायो, अहिले भर्खरै म आउनेबित्तिकैै मौका पाएँ, महिलालाई मुख्यसचिव बनाइहालेँ,’ उनले भने ।
ओलीले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी गरे । अहिले सरकारी भ्रमण टोलीमा महिला सहभागिता अनिवार्य गरेको उनले बताए । ‘मैले अहिले एउटा रुल बनाएको छु, एकजना मात्रै बोलाए बेग्लै कुरा, नत्र पुरुष मात्रैको डेलिगेसन भएर विदेश जान मिल्दैन । महिला सामेल भएकै हुनुपर्छ,’ उनले भने । महिला उत्थानका लागि आफूले सक्दो प्रयास गरेको पनि उनले बताए । महिलाको मनोबल उठाउन, आत्मविश्वास जगाउन र उनीहरूलाई आर्थिक हिसाबले सबल बनाउन १५ लाख रुपैयाँ ४ प्रतिशत ब्याजका दरले दिएर स्टार्टअप गर्न प्रोत्साहित गरिएको उनले बताए ।
समाजमा स्वार्थी र आत्मकेन्द्रित प्रवृत्ति बढेका कारण बलात्कारजस्ता जघन्य घटना भएको उनले बताए । दोषीलाई कडाइका साथ कानुनी कारबाही गरिने उनले बताए । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले अनुकूल वातावरण बनाउने पनि ओलीले दाबी गरे । ‘अहिलेको सरकारसँग आस पनि गर्नुस्, भर पनि पर्नुस्, फरक पर्दैन,’ उनले भने, ‘किनभने, यो (सरकार) केही काम गर्नका लागि बनेको छ । म यो उमेरमा घस्रिनुपर्ने कुनै कारण थिएन । तर, देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यका लागि म (प्रधानमन्त्री) बनेको हुँ ।’
पञ्चायतकालमा आफूले धेरै अन्याय भोगेको स्मरण पनि ओलीले गरे । ‘१८ वर्षको उमेरमा जेल परेको थिएँ । १० वर्ष जेल बसेपछि पनि चार वर्षसम्म विनामुद्दामामिला थुनेकोथुन्यै गरियो । कानुनीराज थिएन । लोकतन्त्रका लागि लड्दा म अन्यायपूर्ण ढंगले थुनिएको थिएँ । कसैले माफी दिएको होइन ।’