संखुवासभामा खोला तर्ने क्रममा एक पुरुष बेपत्ता

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

संखुवासभाको चिचिलामा खोला तर्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्। आज बिहान चिचिला गाउँपालिका–२, मा रहेको कागुवा खोला तर्ने क्रममा खाँदबारी नगरपालिका–४, सेकाहाका ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए। बिहान करिब ८ बजेतिर कागुवा खोला तर्ने क्रममा खोला बगाएर गुरुङ बेपत्ता भएको प्रनाउ श्रेष्ठको भनाइ छ। 

गुरुङ बेपत्ता भएपछि स्थानीय, प्रहरी र सशस्त्र प्रहरीलगायतको टोलीले बिहानैदेखि व्यापक रूपमा खोजतलास गरी रहे पनि हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ।

गुरुङ अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसस्थल पुखुवामा मजदुर थिए। उनी केही समयअघि मजदुरको रूपमा पावर हाउसमा काम गर्दै आइरहेका थिए। आज गुरुङ बिदा लिएर घर फर्किने क्रममा बाटोमा खोलाले बगाएको हो। उनीसँगै साथी गोरेबहादुर गुरुङ पनि सँगै थिए। कागुवा खोला तर्ने क्रममा साथीलाई खोला बगाएको गोरेबहादुरले बताएका छन्।

गएराति उत्तरी क्षेत्रमा ठुलो वर्षात् भएकाले खोलाहरू बढेको थियो। दुई महिनाअगाडिसमेत सोही कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको थियो। 

सुझावित समाचार