भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४, ऐना पहरामा शुक्रबार यात्रुबाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्य अवस्थाबारे बुझ्न काठमाडौं आइपुगेकी छिन्।
उनी महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेकाे यहाँस्थित भारतीय दूतावासले जनाएको छ।
पोखराबाट काठमाडौंतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ। सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो।
घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको थियो। प्रहरीका अनुसार सो बसमा ४३ यात्रु यात्रा गरिरहेका थिए।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको छ। शव परीक्षणपछि भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।