काभ्रेमा मोबाइल चोरी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रे जिल्ला भुम्लु गाउँपालिका– ४ का २२ वर्षीय प्रकाश महत र ३३ वर्षीय युवराज महत बनेपाको तीनदोबाटोबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनीहरूले विभिन्न समयमा काठमाडाैं तथा भक्तपुरबाट काभ्रेको विभिन्न ठाउँमा जान भनी पठाओ बुक गर्थे । बनेपा बजार तथा अन्य स्थानमा आई पठाओचालकलाई विश्वासमा पारी खाजा खान लैजाने तथा खाजा र पठाओको भाडा क्युआरमार्फत हालिदिने भनी नेट नचलेको बहाना गर्ने गरेको श्रेष्ठले बताए। नेट नचलेकाले बाहिर गएर पैसा हालिदिने भनी पठाओचालकको मोबाइलसमेत लिएर चोरी गरी फरार हुने गरेका थिए।
उनीहरूको हुलियाको आधारमा सूक्ष्म अनुसन्धान गरी खोजतलास गर्ने क्रममा बनेपा नगरपालिका– ८ तीनदोबाटोस्थित पठाओचालकलाई काठमाडाैं जान बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको श्रेष्ठले जानकारी दिए। पक्राउ परेका दुवैजनाले मोबाइल चोरी गरी बेच्ने गरेको स्वीकारेका प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट सामसुङ ए– २७ मोबाइल एक थान, रेडमी कम्पनीको मोबाइल एक थान र डिजो कम्पनीको किप्याड मोबाइल एक थान बरामद गरेको छ। अन्य कसैको मोबाइल सोही तरिकाले चोरी भएको भए प्रहरी कार्यालयमा वा ९८५१२८२९१३ र ९८५१२००२९९ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
पक्राउ परेका दुईजनालाई जिल्ला अदालत काभ्रेबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।