ताप्लेजुङ गोल्डकप : सेमिफाइनलका खेलहरू आजदेखि सुरु हुने

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा सञ्चालन भइरहेकाे दोस्राे गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार (आज) सेमिफाइनलको पहिलो खेल हुनेछ।  गत भदाै ३ गतेदेखि जारी गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेल ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लब र मोरङको सगरमाथा युथ क्लबबिच हुने खेल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले बताए । 

ताप्लेजुङले भारत सिलिगुढीको कञ्चनजंघा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। मोरङले रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोलले पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेल सधैँझैँ दिउँसो साढे २ बजेबाट सुरु हुने अध्यक्ष गुरुङले बताए । सेमिफाइनलका दुई खेलका लागि टिकट दर दुई सय रुपैयाँ निर्धारण गरिएको छ । 

सेमिफाइनलको दोस्राे खेल सलहेस युवा क्लब सिराहा र बिर्तामोड युनाइटेड फुटबल क्बल झापाबीच हुने बताइएको छ। सिराहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले र झापाले त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौंलाई ३–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

सेमिफाइनलबाट विजयी टिमले भदौ १० गते फाइनल खेल खेल्नेछन्। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ। 
 

सुझावित समाचार