बाराको निजगढ नगरपालिकाले घरघरमै पुगेर सर्वसाधारणलाई उपलब्ध गराउँदै आएको नि:शुल्क उपचार तथा परामर्श सेवा प्रभावकारी बनेको छ । बिरामीहरूले घरमै उपचार सेवा प्राप्त गर्न थालेपछि स्थानीय सर्वसाधारण लाभान्वित हुँदै आएका छन् ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको चुनावी घोषणपत्रअनुसार नै नगरले गत आर्थिक वर्षबाट सुरु गरेको ‘ज्येष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपांगसँग निजगढ नगरपालिका’ कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरूले सबै वडाका घरघरमै पुगेर प्रत्येक महिनाको २४ गतेदेखि बिरामीहरूलाई उपचार र परामर्श सेवा उपलब्ध गराउन थालेपछि लक्षित समूहका सर्वसाधारण लाभान्वित बनेको नगरपालिकाका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले बताए ।
कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको घरमा पुगेर सामान्य ड्रेसिङ, पोषण अवस्थाको परीक्षण, प्राथमिक उपचार र सामान्य प्रकारका औषधिसमेत नि:शुल्क वितरण गर्दै आएको छ ।
निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख घिमिरेले भने, ‘स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकहरूको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइजस्ता रोगको परीक्षण र उपचारसमेत दिँदै आएका छौँ ।’
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागेर ओछ्यानमा परेका, शारीरिक अशक्तताका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो । यसैगरी भौगोलिक विकटता, आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएका ज्येष्ठ नागरिकलाई समेत घरमै सेवा दिने गरी व्यवस्था मिलाइएको थियो । गत वर्ष निजगढ नगरपालिका- ११ रतनपुरकी १०२ वर्षीया वृद्धा अम्बिका कार्की र उनकी ६५ वर्षीय बुहारी रनमाया खत्रीको स्वास्थ्य परीक्षण र उपचार गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

भौगोलिक विकटताका कारण ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको बताउँदै निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले भने, ‘नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू नगरका सबै वडामा पुगेर घरदैलो गरी बिरामीहरूको पहिचान गरिएको छ र रक्तचाप, मधुमेहजस्ता दीर्घरोगीहरूको जाँचसमेत गरिएको छ ।’
नगर प्रमुख पुरीले भने, ‘जनताको स्वास्थ्यसुरक्षाका लागि राज्यले पनि ठुलो धनराशि खर्च गर्दै आएको अवस्थामा लगानीअनुसार प्रतिफल प्राप्त हुन सकेको छैन । त्यसैले निजगढ नगरले नगरवासीलाई स्वस्थ र निरोगी बनाउन ‘ज्येष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपांगसँग निजगढ नगरपालिका’ कार्यक्रम सञ्चालन गरेको हो।’
पालिकाले जाँच गरेका बिरामीलाई नि:शुल्क औषधि वितरण गरिएकाे निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले नेपालको संविधानले नै नागरिकलाई स्वास्थ्य उपचारको हक प्रदान गरेकाले यसको प्रत्याभूति गर्न सबै क्षेत्र र तहले इमानदारीका साथ काम गर्नुपर्ने बताए ।
शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका र गम्भीर रोग लागेर ओछ्यानमा परेका र अपांगता भएका बिरामीहरूलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको निजगढ १३ का टंक गोलेले बताए ।
निजगढ नगरपालिका स्वास्थ्य शाखाको अभिलेखमा हरेक महिना नगरभित्रका दुई हजार पाँच सयजना बिरामीहरूले कार्यक्रमअन्तर्गत उपचार तथा परामर्श सेवा प्राप्त गर्ने गरेको निजगढ नगरपालिकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।
यस कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रत्येक महिना उनीहरूको स्वास्थ्य उपचार गर्ने गरी कार्यक्रम बनाएको छ । गम्भीर समस्या भएका ज्येष्ठ नागरिकलाई थप उपचारका लागि समेत नगरपालिकाले सहयोग गर्दै आएको छ ।
पालिकाभरका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् तथा उनीहरूले सामान्य उपचारका लागि पनि धेरै कष्ट उठाउन नपरोस् भनेर घरघरमै गएर स्वास्थ्य परीक्षण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।